क्यान्सर उपचारमा नेपालमै अत्याधुनिक सेवा

517 पटक पढिएको

सम्पादक: Dhadingnews.com

क्यान्सर उपचारमा नेपालमै अत्याधुनिक सेवा

काठमाडौं,/नेपाल क्यान्सर इन्ष्टिच्युट एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सर उपचारमा अत्याधुनिक सेवा शुरु गर्ने भएको छ । अत्याधुनिक सेवाका लागि अस्पतालले भारतको नयाँ दिल्लीस्थीत राजीव गान्धी क्यान्सर अस्पतालसंग प्राविधिक सेवा सम्झौता गरेको हो ।

यो सम्झौताले क्यान्सर उपचारका लागि राजीव गान्धी अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो। राजीव गान्धीसँगको सम्झौताले गुणस्तरी क्यान्सर उपचार नेपालमै सम्भव भएको पौडेलको दाबी छ । ‘अस्पतालले राजीव गान्धी क्यान्सर अस्पतालसँग विशेषज्ञ टेलिमेडिसिन सेवा शुरु गरिसकेको छ’ उहाँले भन्नुभयो, ‘अस्पतालको औपचारिक उद्धघाटनपश्चात प्राविधिकरुपमा सम्पूर्ण सेवाको आदानप्रदान हुनेछ ।’

करिब डेढ अर्वको लगानी स्थापित यो अस्पताल निजी क्षेत्रको नेपालकै ठूलो क्यान्सर अस्पताल हो । अस्पतालले नेपालमै पहिलोपटक वोनम्यारो प्रत्यारोपण (रक्त क्यान्सरका लागि), फ्रोजन सेक्सन, ल्याप्रोस्कापीक क्यान्सर सर्जरी, इमेज गाइडेड रेडियसन थेरापी (क्यान्सर भएको विशेष भागमा गरिने रेडियसन) लगायतका सेवा प्रदान गर्ने पौडेलको भनाई छ । अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने केमो थेरापी, रेडियो थेरापी र शल्यक्रियाका सबै सेवा उपलब्ध गराउने पौडेलको भनाई छ । अस्पतालले औपचारीक रुपमा माघ देखि सेवा प्रदान गर्ने छ । अस्पतालको बेड संख्या एक सय पचास रहेको पौडेलको भनाई छ । अस्पताल ललितपुरको हरिसिद्धिमा रहेको छ ।