घरमाथि विजुलीको तार, साँझमा टुकीको भर
552 पटक पढिएको
धादिङ,/पृथ्वी राजमार्ग छेउछाउका धादिङका बजारहरु साँझमा निकै झिलिमिली हुन्छन् । २४ घण्टाजस्तै गाडी चल्ने यो राजमार्गमा साँझमा पनि ब्यापार ब्यवसाय उत्तिकै चल्छ ।
त्यसैले धार्के, मलेखु जस्ता केही बजारहरुमा रातमा पनि अध्यारो देखिदैन । तर पृथ्वी राजमार्गमै पर्ने धादिङको एउटा सानो बजार भने बत्तीमुनिको अध्याँरो जस्तो छ । बिद्युतीकरणका लागि घरमाथि तार टाँगिएको पनि एक वर्ष हुन लाग्यो, तर पनि धादिङ जोगिमारा गाविस मौवाखोलाका वासिन्दाले विजुली वाल्न पाएका छैनन् ।
गएको फागुनमा घरमाथि तार आइपुगेपछि विजुली वाल्ने मौवाखोलावासीको रहर पुरा हुन सकेको छैन । करिब ४० घरधुरी भएको बजार, आँगनैमा दुई लेनको राष्ट्रिय राजमार्ग, सेकेण्ड सेकेण्डमा गाडी गुडिरहन्छ, बेलाबेलामा देश विदेशका यात्रु ओर्लेर वजारमा किनमेल पनि गर्छन् । २०२६ सालमा पृथ्वीराजमार्ग सञ्चालन भएदेखि बसेको यो बजार साँझ नपर्दै अध्याँरो भइहाल्छ ।
हरेक दिन घर माथि रहेको विजुलीको तार हेरेर घरभित्र टुकी बाल्न बाध्य स्थानीय वासिन्दामा छिटै विजुली वाल्न पाउने आशा छैन । ‘नजिकै पर्ने चितवनको फिस्लिङ र धादिङको हुग्दीखोलाको बस्तीमा धेरैबर्ष पहिले नै बिजुली बलिसकेको भएपनि हामीलाई कसैले वास्ता गरेनन्’ स्थानीय रामचन्द्र चेपाङले गुनासो गर्नुभयो ।
मौवाखोला चितवन र धादिङको सीमानामा रहेको बजार हो । राजमार्ग सञ्चालन भएपछि जोगिमारा गाविसका बिभिन्न वडाबाट मानिसहरु बसाइँ सरेर यहाँ बस्न थालेका हुन् । ‘सक्नेहरुको घरमा सोलार बत्ती बल्छ, हामी त टुकी नै बाल्छौं’ उहाँ भन्नुहुन्छ ‘बाहिरबाट हेर्दा राष्ट्रिय हाइवे छ, यहाँचाहिँ न मोबाइल टिप्छ, न बिजुली बत्ती बाल्न पाइन्छ ।’
आफूहरुले पटक पटक गाविसमा गएर विजुली माग गरेको तर सुनुवाइ नभएको अर्का स्थानीय भेषबहादुर गुरुङले बताउनुभयो । ‘बिजुली लाइन जोडिदिन गाविसदेखि जिविससम्म, प्राधिकरणको धादिङ गजुरी र चितवनको भरतपुरसम्म पुगेर माग गरेपनि सबैले हुन्छ दिन्छौं मात्रै भने तर अझै बत्ती बाल्न पाएको छैन’ उहाँले भन्नुभयो ।
स्थानीय वासिन्दाको प्रयासमा अघिल्लो वर्ष चितवनतिरबाट तार टाँग्ने काम त भयो तर अझै बत्ती कहिले आउने भन्ने ठेगान छैन । दुई किलोमिटर परको फिस्लिङबाट लाइन तान्न थोरै खर्चले हुने भएपछि मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थासंग समन्वय गरेर बिजुली लाइन तान्ने प्रयास भए पनि बिद्युत प्राधिकरणको ढिलासुस्तीका काम हुन नसकेको स्थानीय वासिन्दा बताउँछन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १७ मंसिर सोमबार ०५:४३ मा प्रकाशित