उपचार नहुँदा पढ्ने सपना अधुरै

611 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/आर्थिक समस्याका कारण परिवारले उपचार गराउन नसक्दा एक बालकको पठनपाठन रोकिएको छ । जिल्लाको नलाङ–६, बुङचुङका १२ वर्षका रमेश अर्याल जन्मेदेखि नै दिसापिसाब नरोकिने समस्याबाट पीडित भएपछि उनको पठनपाठन रोकिएको छ ।ramesh

जन्मदेखि नै दिसापिसाब नरोकिने समस्या रहेका कारण विद्यालयमा दिनभर बस्न समस्या हुँदा विद्यालय पठाउन नसकिएको बुवा ७८ वर्षीय नरबहादुर अर्यालले बताए । रमेशको उपचारका लागि चार वर्षअगाडि काठमाडांैमा लगेर उपचार गराएको भए पनि समस्या समाधान नभएको नरबहादुरले बताए । अहिले फेरि उपचार गर्न आफूसँग पर्याप्त रकम नभएको नरबहादुरले दु:खेसो पोखे ।

त्यति वेला पनि डाक्टरहरूले अपरेसन गर्नुपर्ने सल्लाह दिएका भए पनि रकम अभावका कारण अपरेसन गर्न नसकिएको उनको भनाइ छ । दिन प्रतिदिन उमेर बढ्दै जाँदा रमेशलाई पनि दैनिक जीवनयापनमा समस्या पर्दै गएको छ । दिसापिसाब नरोकिने भएका कारण उनले लगाएको लुगा सधैँ भिज्ने र चिसो भइरहन्छ ।

चिसो समयमा झन् धेरै समस्या भएको बुवा नरबहादुरले बताए । यसो बाहिरफेर लान पनि समस्या भएको गुनासो गर्दै नरबहादुरले बालकको उपचारका लागि कुनै निकाय वा संघ/संस्थाको सहयोगको अपेक्षा गरेका छन् । ‘दैनिक गुजारा गर्न त धौ–धौ छ, छोराको उपचार कसरी गर्ने ? नगरौँ पनि भएन, के गर्ने गर्ने ? यसो कुनै निकायले हेरेमा आभारी हुने थिएँ,’ नरबहादुरले भने ।