मूर्ति देख्न नपाउने त्रिपुरासुन्दरी माई मन्दिरमा न्वागी जात्रा

673 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ नेपालको प्रमुख जात्राहरुमध्ये पर्ने त्रिपुरासुन्दरी माइको न्वागी जात्रा पनि एक हो । यस बर्षको न्वागी जात्रा बुधवार धुमधामका साथ सम्पन्न भएको छ ।
धादिङको सल्यानकोट गाविस–५ मा रहेको त्रिपुरासुन्दरी माइको मन्दिरमा लाग्ने जात्रामा भक्तजनहरुले मूर्ति देख्नसमेत DSC02294पाउँदैनन् । यो नेपालकै चर्चित जात्रामध्येको एक हो ।
त्रिपुरासुन्दरीको मूर्ति कसैले नदेखे पनि त्यही पूजा गर्ने पुजारीले भने पूजाको दिन त्यसलाई नदेख्ने गरी बोकेर भगवतीकै मन्दिरमा पु¥याउने गर्छन् । त्रिपुरासुन्दरीको मूर्ति अहिलेसम्म कोही पनि भक्तहरुले देखेका छैनन् । मूर्ति हेरेमा अनिष्ट हुने डरले मूर्ति नहेरेको पुजारी बताउँछन् । त्रिपुरासुन्दरी भगवतीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन पाउँदैनन् ।
मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले भगवतीको स्वरुपबारे कसैलाई जानकारी गराउँदिनँ भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ । यी तीन थरबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुख्यढोकाबाटै भगवतीलाई पूजा–आजा गर्नुपर्ने नियम छ ।
विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैं तिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिँउदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको मन्दिरको बसाइँलाई तुलना गरिएको छ । सोही अनुसार सल्यानकोट गाविस–५ मा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ, जुन मामाघरको रुपमा प्रसिद्ध छ ।
मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रुपमा प्रचलित छ । सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिन्छ ।
मङ्सिर महिनाको विशेष तिथिमा भगवतीलाई गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा पु¥याइन्छ । खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झन्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै भगवतीलाई बेसीको मन्दिरमा पुजारीहरुले ल्याएको हेर्नेहरुको घुइँचो नै लाग्ने गर्दछ ।
भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ । भगवतीलाई बेंसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा मेला लाग्ने गर्दछ भने भगवतीलाई बेंसीको मन्दिरमा पु¥याइसकेपछि भोलिपल्ट दिनभर बेंसीको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।