धादिङमा ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’ सुरु

687 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ: धादिङ प्रहरीले जिल्ला भित्रको राजमार्ग क्षेत्रमा ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ सुरु गरेको छ। देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने दुईवटा मुख्य राष्ट्रिय राजमार्ग धादिङमा रहेकाले यस क्षेत्रमा हुने कुनै पनि घटना, दुर्घटना, आपराधिक गतिविधि र अवैध धन्दा तथा शान्ति सुरक्षालाई व्यवस्थित बनाउन प्रहरीले ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ सञ्चालनमा ल्याएको हो।

धादिङको मौवाखोलादेखि नौविसेसम्म पृथ्वीराजमार्ग र काठमाडौंको नागढुङ्गादेखि नौविसे हुँदै तसर्पुसम्म त्रिभुवन राजपथ धादिङ जिल्ला भित्र पर्दछ। यसअघि २०७० आसार १४ गतेदेखि असार २३ गतेसम्म १५ दिन सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –१’ उपलब्धिमुलक भएकाले फलास आउट –२ सञ्चालनमा ल्याइएको सोमबार इलाका प्रहरी कार्यालय खानीखोलामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक अशोक सिंहले जानकारी दिए।

पुस १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ राजनीतिक मतभेदलाई सौहार्दपूर्ण तबरबाट शान्त र संयमित बनाउने, गुण्डागर्दी जुवातास वेश्यावृत्ति तथा सामाजिक विकृति र विंसंगति नियन्त्रण गर्ने, अवैध रुपमा सञ्चालन गरिएको मदिरा उत्पादन र विक्री वितरणमा रोक लगाउने, हातहतियार राख्ने तथा ओसारपसार गर्ने जस्ता कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्ने, मापदण्ड विपरित सञ्चालित क्रसर उद्योग, वालुवा प्रशोधन केन्द्रमा रोक लगाउने प्रहरी नायव उपरीक्षक सिंहले बताएका छन्।

यसैगरी यस अवधिमा चोरी ठगी लुटपाट नियन्त्रण र फरार अभियुक्त पक्राउ तथा कारबाही, लागुऔषध बिक्री वितरण तथा सेवनमा रोक लगाउने, महिला हिंसा, चेलीवेटी वेचविखन तथा मानव अंग तस्करीमा रोक, ट्राफिक नियम उल्लंघन गर्नेलाई नियमानुसार आवश्यक कारबाही जस्ता कार्यालाई अभियानका क्रममा विशेष प्राथमिकता दिइने र संघसंस्था, महिला सेल, स्थानीय जनताहरुसंग हातेमालो गर्दै अघि बढ्ने कार्यक्रम रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए।

धादिङको शान्ति सुरक्षा र राजधानीको शान्ति सुरक्षाबीच अन्तरसम्बन्ध रहेकाले राजधानी र बाह्य जिल्लालाई जोड्ने मुख्य राजमार्ग धादिङमा पर्ने भएकोले अपरेसन फलास आउट –२ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए।

प्रहरी अधिकृत तथा प्रहरी पोष्टका प्रमुखहरुको सहभागिता सम्पन्न कार्यक्रममा प्रजिअ पोख्रेलले धादिङलाई आपराधिक गतिविधि र अवैध धन्दा मुक्त बनाउन सबै पक्षसँग आग्रह गरेका थिए ।