रुन पनि पाउँदैनन् बिरामी महिला-“प्रसुति बिरामीप्रति डाक्टर नर्सको व्यवहार”

564 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, पुस ४ – भनिन्छ, डाक्टर र नर्सको मायालु र हेरचाहपूर्ण व्यवहारले बिरामीको आधा रोग त्यसै निको हुन्छ । तर, नेपालको प्रसुति सेवामा भने उनीहरुको व्यवहार बिरामीमैत्री नभएको गुनासो बढ्न थालेका छन् । प्रसव पीडाले छट्पटिदै अस्पताल पुगेका बिरामीलाई नर्स र चिकित्सकले समयमा आवश्यक परामर्श नदिने र रुखो व्यवहार गर्ने गरेको पीडितहरुको भनाई छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा डेलिभरी गराउन पुगेकी कोपिला खतिवडा प्रतिनिधि पात्र हुन् । सुत्केरी व्यथा सुरु भएर पेट र ढाड दुख्न थालेपछि अस्पताल पुगेकी उनलाई अघिल्लो मंगलवार ‘बेड’ छैन भन्दै नर्सहरुले फर्काइदिए । रातभरको पीडा सहेर भोलीपल्ट बिहान ६ बज्न नपाउँदै उनी फेरी अस्पताल पुगिन् । ‘तिनै नर्सले ढिला भैसक्यो हिजै आउनु पर्दैन भन्दै गाली गरेर लेवर रुम -बच्चा जन्माउने कोठा) मा लगे’, कोपिलाकी दिदी रुपाले अत्तालिदै भनिन्, ‘लेवर रुममा लगेको १२ घण्टा बितिसक्दा पनि बिरामीको अवस्थाबारे कसैले राम्रो जानकारी दिएनन । ढोका खोलेर सोध्न खोज्दा कुटुला झै गरेर गाली गर्छन् ।’

त्यसो त नर्सहरुलाई बिरामीलाई कसरी व्यवहार गर्नेभन्नेबारे ज्ञान नभएको हैन । एउटा नर्सले बिरामी भेट्ने बित्तिकै स्वागत वा नमस्कार गर्नुपर्ने र आफ्नो परिचय दिदै बेडमा राखेर बिरामीको परिचय लिनुपर्ने उनीहरुले पढेर आइसकेका हुन्छन् । त्यसपछि कहाँ बस्ने, परिवारको अवस्था, पढाइ, पेशाजस्ता बिषयमा जानकारी लिंदै रोगको इतिहासलगायत बिरामीबारे विस्तृत जानकारी लिनुपर्ने सामान्य नियम नै हो । तर, उनीहरुले यसलाई बिरलै रुपमा पालना गर्छन् ।

नेपाल नर्सिङ काउन्सिलकी पूर्वरजिस्ट्रार जानकी केसी पनि त्यसलाई स्वीकार्छिन् । ‘सिकाइ र पढाइलाई व्यवहारमा नउतारेकाले बिरामीसंग झर्किने, रिसाउने र गाली गर्ने गर्छन्’, उनले भनिन्, ‘बिरामीको चाप अनुसार नर्सको संख्या कम भएर पनि यस्त्ाो भएको हो ।’ उनका अनुसार बिरामीसग नर्सले सधैं नरम र शिष्टभाषाले बोल्नुपर्ने, औषधि खाने समय, त्यसको डोज, उपचारबारे ‘अपडेट’ भइराख्नुपर्छ । सरकारी अस्पतालको तुलनामा भने निजी क्लिनिक र अस्पतालमा डाक्टर नर्सको व्यवहार केही शिष्ट हुने गरेको केसी बताउछिन् ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार चार जना बिरामीका लागि एक नर्स चाहिन्छ । अझ आइसीयुमा राखेका दुई बिरामीका लागि एक नर्स अनिवार्य हुनुपर्छ भन्नेछ । ‘हाम्रोमा एउटै नर्सले ५० जनालाई हेर्नुपर्ने वाध्यता छ । वार्डमा भएका सबै बिरामीलाई एउटै नर्सले हेरचाह गर्दा कामको लोडले पनि झर्किएका होलान्’ उनले भनिन् ।

थापाथलीस्थित प्रसुति गृहमा आएका बिरामीले पनि नर्स र डाक्टरको रुखो व्यवहार सहनु परेको गुनासो गरे । बुधबार प्रसुति गृहमा भेटिएकी जडीबुटीकी २३ वर्षे बीना तामाङले प्रसव व्यथाको पीडामा रुन समेत डराउनु पर्ने अवस्था रहेको बताइन् । ‘आवाज निकालेको सुन्यो कि चुप लाग् कति रुन्छेस, तैले मात्र बच्चा पाउने हो ? भन्दै थर्काए’, डिस्चार्ज भएर घर जान लागेकी उनले सुनाइन्, ‘लेवर रुम भित्र आफन्त कसैलाई छिर्न दिएनन् । साह्रै गाह्रो भएर १५/२० मिनेटसम्म बोलाउँदा समेत कोही आएनन् ।’

आफुहरुको अगाडि नर्सहरुले बिरामीसंग नम्र भाषामा कुरा गर्ने गरे पनि आफ्नो आँखा पछाडि रुखो व्यवहार गरिरहेको स्वीकार्छन् प्रसुति गृहका प्रशासक अमर अमात्य । ‘तर विगतको भन्दा धेरै सुधार भएको छ’, उनले भने, ‘पछिल्लो एक वर्षमा बिरामीसंग रुखो व्यवहार गर्ने एक नर्स र लापरवाही गर्ने ल्यावका एक कर्मचारीलाई बर्खास्त गरेपछि धेरै सुधि्रएको छ ।’ प्रशासनले नर्सको व्यवहार अनुगमन गर्ने र बिरामीसंग नम्र व्यवहार गर्नु निर्देशन दिदै आएको उनले दावी गरे ।

प्रसुति गृहमा २० वर्षदेखि कार्यरत स्टाफ नर्स कामको चापले यस्तो भएको बताउँछिन् । उनका अनुसार एउटै नर्सले ३० जना बिरामीको ख्याल गर्नुपर्ने हुन्छ । ‘बिरामीको अवस्था हेरेर हेरचाह गर्ने गरेका छौं’, उनले भनिन्, ‘बच्चा जन्माउने व्यथाले आठ/नौ घर खुलिसकेकोलाई प्राथमिकता दिँदा तीन/चार घर मात्र खुलेको बिरामीले ढिलो उपचार पाउछन् ।’

शिक्षणका निर्देशक डा. भगवान कोइराला एक/दुई केसलाई लिएर सबै नर्सलाई एउटै घानमा हाल्नु अन्याय हुने बताउछन् । ‘उपचारको क्रममा बिरामीको ज्यान जादासमेत उनीहरुप्रति डाक्टरनर्सको राम्रो व्यवहारका कारण हामीलाई धन्यवादका पत्र आएका सयौं उदाहरण छन्’, उनले भने, ‘यस्ता एक/दुई केसले गर्दा समाजमा डाक्टरनर्सप्रति नकारात्मक छवि फैलाउने काम भइरहेको छ ।’ चिकित्सक र नर्सको व्यवहारबारे निरन्तरत अनुगमन भइरहेको उनले बताए । तीन महिनायता अस्पतालमा भर्ना भएका प्रत्येक बिरामीलाई डिस्चार्ज हुने समयमा सुझाव र प्रतिक्रियाका लागि फाराम भर्न दिएर उनीहरुको व्यवहारबारे जानकारी लिने काम भइरहेको उनले जनाए । ‘अहिलेसम्म २ हजार फाराम संकलन भइसकेको छ’, उनले भने, ‘त्यसैको आधारमा बेलाबेलामा सम्वद्ध विभागका नर्स र चिकित्ससग अन्तरक्रिया गर्दै सुधारका लागि चेतावनी दिइसकेको छु र पछिल्लो समय धेरै सुधार भएको छ ।’

बिरामीसंग नर्स र डाक्टरले गर्ने व्यवहार र परामर्शको पुरा कोर्स पढाउने गरेपनि व्यवहारमा लागु नहुदा बिरामी र डाक्टरवीचको सम्वन्ध टाढिएको बताउँछन् नेपाल मेडिकल काउन्सीलका अध्यक्ष दामोदर गजुरेल । ‘पढेको कुरा पालना नगर्दा कस्तो कारवाही हुने भन्ने व्यवस्था छैन’, उनले भने, ‘यसको कडा मापदण्ड बनाएर लागु गर्नें तयारी भइरहेको छ ।’

कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट -सीपीडी) कोर्स गरे पछि मात्र नबिकरण गरिने कार्ययोजना बनाउन लागेको उनले जनाए ।  ‘यो कोर्स पास गर्न बीरामीसंगको कम्युनिकेसन कोर्स पुरा गरेर व्यवहार लागु गरेकै हुनुपर्नेछ’, उनले भने ।

-ईकान्तिपुर डट कमबाट