पण्डित बन्न कर्मकाण्ड पढ्दै बालकहरु

621 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस ४ – नुवाकोटको कुमरी गाविस वडा नं ८ रिट्ठेटारका १२ वर्षीय शिव न्यौपाने लामो टुप्पी, पहेँलो धोती र चन्दन लगाएर वेद, रुद्री, लघुसिद्धान्त, कौमुदिनी चण्डी र हितोपदेश लगायतका विषय पढ्नमा व्यस्त छन् ।

तीन वर्षअघिदेखि न्यौपानेले कर्मकाण्ड तथा संस्कृत शिक्षा पढ्दै आएका छन् । भविष्यमा राम्रो भागवत वाचक पण्डित बन्ने सपना देखेका उनी धादिङको मलेखुमा रहेको भद्रकाली गुरुकुल संस्कृत वेदविद्याश्रममा अहिले चार कक्षामा पढ्दै छन् ।

सानै उमेरमा आमा गुमाएका न्यौपानेलाई उनकै बाबुले संस्कृत भाषा पढ्न प्रेरित गरेका हुन । ‘हाम्रो पुरानो संस्कार हराएर जाने भयो, तिमिले कर्मकाण्ड पढेर राम्रो पण्डित बन्नुपर्छ भनेर बुबाले भन्नुभएपछि मलाई पनि यहि विषयमा पढ्न मन लाग्यो’ न्यौपानेले भने ।

 भद्रकाली गुरुकुल संस्कृत वेदविद्याश्रममा धादिङ, चितवन र  नुवाकोटका १० जना बालक संस्कृत तथा कर्मकाण्ड शिक्षा पढ्ने गर्दछन् । अरू विषय पढेर पनि जागिर पाउन मुस्किल छ, संस्कृत पढे गाउँ घरमै पूजापाठ गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने लागेर कर्मकाण्ड शिक्षा पढ्न थालेको वेनिघाटका राजेन्द्र सिलवाल बताउनुहुन्छ । पछिल्लो समयमा गाउँघरमा सनातन धर्म र पूजापाठका लागि  पण्डितहरूको कमि हुन थालेकाले मलेखुमा भद्रकाली गुरुकुल संस्कृत वेदविद्याश्रम स्थापना गरेर  संस्कृत तथा कर्मकाण्ड पढाउन थालिएको विद्यालयका संस्थापक एकराज पाण्डेले बताउनुभयो । तीन वर्ष अघिबाट सुरु भएको पाठशालामा अहिले १० जना बालक आवासीय सुविधा सहित पढिरहेका छन् । संस्कृत पढ्न आउनेको संख्या धेरै भएपनि व्यवस्थापन मिलाउन नसक्दा अहिले १० जनालाई मात्र पढाउनु परेको पाण्डे वताउनुहुन्छ । भद्रकाली गुरुकुल संस्कृत वेदविद्याश्रम स्थानीय भद्रकाली सामुदायिक विकास समाजले स्थापना गरेको हो । विद्यालयले सरकारी मान्यता पाउन सकेको छैन । आगामी शैक्षिक सत्रदेखि विद्यालयलाई सरकारी मान्यता दिन जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग र जिल्लाबाट निर्वाचित सभासदहरुले प्रतिवद्धता जनाएको स्थानीय सामाजिक कार्यकर्ता तीर्थ सिलवालले बताउनुभयो । संस्थाले विद्यार्थीको लागि पोशाक, शैक्षिक सामाग्री र खाने वस्ने व्यवस्था निःशुल्क मिलाएको छ । मलेखुमा रहेको भद्रकाली मन्दिर परिसरमा सञ्चालन भइरहेको पाठशालाका लागि मलेखु र गजुरीका गरी ८० जनाले दैनिक मुट्ठिदान गरेर चामल सहयोग गर्दै आएका छन् ।

दाताहरुले खाना पकाउनु अघि एकमुठी चामल पाठशालाको लागि छुट्याउने गरेको सिलवालले बताउनुभयो । तीन वर्षअघि स्थापित पाठशालामा निःशुल्क रूपमा पढाउने गरिएको छ ।

पाठशालामा कर्मकाण्ड गर्ने शिक्षादेखि संस्कृतबाटै व्यावहारिक शिक्षा पनि पढाउने गरिएको विद्याथीहरु बताउँछन । सामान्यतया अक्षर चिनेका व्यक्तिलाई मात्र पाठशालामा भर्ना लिने गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

पण्डित बन्न कम्तिमा १० वर्ष लाग्ने गर्दछ । पाठशालाले सरकारी मान्यता पाउन सके पण्डित बनाउने गरी पढाई अघि बढाउन आफूहरु लागि परेको संस्थाका अध्यक्ष पाण्डेले बताउनुभयो । पाठशालामा पढ्नेले अनिवार्य शाकाहारी भोजन लिनुपर्दछ । पोसाकमा भने धोती, कुर्ता, दौरा(सुरुवाल र ढाकाटोपी अनिवार्य गरिएको छ ।

-उज्यालो अनलाईनवाट