धादिङमा ४१ हजार तेत्तिस बालबालिकालाई पोलियो थोपा खुवाइदै
514 पटक पढिएको
धादिङ – राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत शनिवार पहिलो चरणमा धादिङका ४१ हजार तेत्तिस बालबालिकालाई पोलियो थोपा खुवाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा यस बर्ष पौष ६ गते धादिङका ४१ हजार तेत्तिस बालबालिकालाई पोलियो थोपा खुवाइने भएको हो ।
नेपालबाट पोलियो रोग उन्मुलन गर्ने लक्ष्यका साथ २०५४ साल देखि सञ्चालन भएको यो अभियान नेपालमा अन्तिम पटक सञ्चालन हुने भएको हो । पोलियो रोग उन्मुलनका लागि करिव १६ बर्ष सम्म सञ्चालन भएको अभियानबाट सकरात्मक रुपमा परिवर्तन आएपछि अभियान समापन हुन लागेको हो ।
अभियानका कारण नेपालमा पछिल्लो समयमा कुनैपनि बालबालिका पोलियो रोगबाट ग्रसित नभएपछि अभियान सम्पन्न हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत सरदप्रसाद आचार्यले जानकारी दिनु भयो ।
जन्मेदेखि ५ बर्ष मुनिका बालबालिकालाई दुई पटक सम्म खुवाईने यो अभियान धादिङमा जिल्ला स्वास्थ्य कार्यालय धादिङ सँगै २ सय २५ खोप केन्द्रहरुमा सञ्चालन हुने भएको छ । धादिङमा जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र , ३३ स्वास्थ्यचौकी र १६ उपस्वास्थ्यचौकी सन्चालनमा रहेका छन । खोप अभियानका लागि स्वास्थ्यकर्मीहरुका साथै स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।
नेपाललाई पोलियो शून्य बनाउने अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न चरणमा पोलियो खोप अभियान सञ्चालन गर्न लागेको छ। अभियानअन्तर्गत पहिलो चरणमा धादिङ लगायत ६८ जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई यही पुस ६ र ७ गते शनिवार र आइतबार तथा दोस्रो चरणमा माघ ११ र १२ गते शनिबार र आइतबार पोलियो खोप लगाइनेछ।
हिमाली सात जिल्लामा भने चैत ८ र ९ गते शनिबार र आइतबार तथा २०७१ वैशाख १३ र १४ गते खोप अभियान सञ्चालन गर्न लागिएको बालस्वास्थ्य महाशाखाका प्रमुख डा सेनेन्द्रराज उप्रेती जानकारी दिनुभयो ।
ती दिनमा सञ्चालन हुने खोप अभियानमा पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई समेटिनेछ। सबै गाउँ विकास समिति कम्तीमा एउटा तथा नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन गरिनेछ। यसरी ४० हजार ४४७ खोप केन्द्रमा ८१ हजार स्वयम्सेवक र १२ हजार अनुगमनकर्ता परिचालन हुनेछन्।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ५ पुष शुक्रबार १२:५६ मा प्रकाशित