पर्यटकीय सम्भावना बोकेको ब्रुसबाङ
680 पटक पढिएको
धादिङ, पुस ६ – धादिङको दक्षिणी भेगमा पर्ने महाभारत श्रृङ्खलाको ब्रुसबाङ पर्यटकीय सम्भावना वोकेर पनि अहिले ओझेलमा परेको छ ।
प्रचार प्रसारको कमी तथा यातायातको सुविधा नपुगेको यो गाउँ अहिले बत्ति मुनिको अध्याँरो जस्तै बनेको छ । पृथ्वीराजमार्गको मलेखुवाट सुरु हुने मलेखु भण्डारा सडक हुँदै चितवन र धादिङ जिल्लाको सिमानामा रहेको कान्द्राङगढीसम्म २० किलोमिटर दुरी मोटरमा गएर त्यहाँबाट तीन घण्टाको पैदल यात्रापछि पुगिन्छ ब्रुसबाङ ।
समुद्री सतहबाट २२ सय मिटर उचाईमा रहेको ब्रुसबाङ चेपाङ समुदायको मात्र बसोबास रहेको बस्ती हो । धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने यहाँबाट अन्नपूर्ण ,माच्छापुच्छ्रे, मनासलु, गणेश, पाविल, जुगललगायतका हिमालको अवलोनक गर्न सकिन्छ ।
उचाईको बस्ती भएकाले थुम्काबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले ब्रुसवाङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसकिने धादिङ क्षेत्र नम्बर ३ का सभासद तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे बताउनुहुन्छ ।
ब्रुसबाङवाट धादिङ, गोरखा, चितवन, मकवानपुर र पर्सा लगायतका जिल्लाका बस्तीहरु समेत देख्न सकिन्छ । चेपाङ संस्कार र संस्कृतिको अवलोकन गर्न चाहनेहरुको लागि पनि ब्रुसबाङ गन्तव्य बन्न सक्ने सभासद पाण्डेको भनाइ छ । गाउँबाट देखिने मनमोहक दृष्यले ब्रुसबाङ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ । नजिकै रहेका जंगलहरुमा फागुन–चैत महिनामा ढकमक्क फुल्ने लालीगुराँसले पनि सबैको मन लोभ्याउँछ । यस ठाउँको मुख्य सौन्दर्य र आकर्षण भनेको सूर्योदय र लालिगुराँस र चेपाङ संस्कृति हो ।
ब्रुसबाङलाई पर्यटकीय क्षेत्र वनाउन गुरुयोजना तयार पार्दै नेपाल एकीकरण हुनुअघि ऐतिहासिक गढीका रुपमा चिनिएको कान्द्राङगढीको भग्नावशेषलाई पनि जोगाउन तत्काल कार्यक्रम ल्याइने पाण्डे बताउनुहुन्छ । कान्द्राङगढीसम्म मोटरमा जान सकिने भएकाले ब्रुसबाङलाई पर्यटकीय क्षेत्र बनाउन सकिने सभासद पाण्डेको भनाइ छ ।
कान्द्राङगढी र ब्रुसबाङको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान सकिने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ बताउनुहुन्छ । प्रचारप्रसार मात्र नभई भौगोलिक विकटताका कारण पनि यो क्षेत्र पछि परेको उहाँको बुझाइ छ ।
कान्द्राङगढीसम्म अहिले सडक पुगेको भएपनि ब्रुसबाङ जाने बाटो उकालो र सांघुरो समेत भएकाले यहाँ जान केही कठिन भएकाले ब्रुसवाङ जाने बाटो मर्मत गर्न सके ब्रुसबाङलाई जिल्ला र राष्ट्रियस्तरमा चिनाउन सकिने चेपाङले बताउनुभययो । कान्द्राङगढीमा तत्कालिन बाइसे राज्यको सैन्य अखडा रहेको विश्वास गरिन्छ । यहाँ ढुंगाको भग्नावशेष पर्खाल र दुईवटा ठुला सुरुङहरु अहिले जिर्ण अवस्थामा रहेका छन् ।
ब्रुसबाङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पर्यटन लक्षित कार्यक्रमहरु ल्याएर यी ठाउँबाट पनि फाइदा उठाउन सकिने जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत विनोद अर्याल वतानुहुन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ प्रवेश गराउन स्थानीय स्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तर बाटै पहल गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्राकृतिक रुपले भरिपूर्ण हुँदाहुँदै पनि कुनैपनि निकायले पहल नगरेका कारण यहाँ पर्यटक भित्र्याउन नसकिएको महादेवस्थान गाविसका पूर्व अध्यक्ष रामबहादुर रावल बताउनुहुन्छ । स्थानीय निकायको पहलमा सरकारले आगामी दिनमा पर्यटन केन्द्रित कार्यक्रम ल्याएर पर्यटकहरुलाई यहाँ लैजान सके पर्यटनबाट नै यो क्षेत्रको विकास गर्न सकिने उहाँको बुझाइ छ । सूर्योदय अवलोकनका लागि ब्रुसबाङ डाँडामा भ्युप्वाइन्ट निर्माण गर्न उहाँले माग गर्नुभयो ।
उज्यालो अनलाईनबाट