नेजाको चौथो अधिवेशन ह्युस्टनमा हुने

582 पटक पढिएको

सम्पादक: Dhadingnews.com

न्यूयोर्क,अमेरिका -अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेशन आगामी मे महिनाको २, ३ र ४ मा अमेरिकाको टेक्सासको ह्युस्टनमा हुने भएको छ | नेजाले प्रत्येक दुईवर्षमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अधिवेशन गर्दै आइरहेको छ | नेजा कार्य समितिको डिसेम्वर १५ तारिख सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो | अधिवेशन सम्पन्न गर्नका लागि नेजाका क्षेत्रीय उपाध्यक्ष बिटु केसीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन समेत गरिएको छ | ह्युस्टन अधिवेशनले अर्को दुई वर्षका लागि संस्थाको नयाँ नेतृत्व चयन र अन्य कार्य योजनाहरु तय गर्नेछ |
आइतवार अध्यक्ष आङछिरिङ शेर्पा र महासचिव किशोर पन्थीले सार्वजनिक गर्नु भएको प्रेस विज्ञप्तिमा यो जानकारी गराइएको छ | विज्ञप्ति मार्फत उहाँहरुले
आगामी अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्ने कार्यमा सहयोग गर्न अमेरिकामा रहनुभएका सम्पूर्ण संचारकर्मी लगायत अमेरिकामा रहनुभएका सबै नेपाली सामाजिक संघ संस्था, पेशाकर्मी , व्यवसायीसहितलाई अनुरोध गर्नु भएको छ | विज्ञप्तिमा अगाडी भनिएको छ’नेजाको अधिवेशनको तयारीमा जुट्नुहुन नेजाको कार्यसमिति, साधारण सदस्यहरु, शुभचिन्तकहरु लगायत सबैमा अनुरोध गर्दछ । नेजाको साधारण सदस्यता वितरण पक्रिया चलिरहेकाले  सदस्यता लिनुहुन तथा आफ्नो सदस्यता नविकरण गर्नुहुन सम्पूर्ण संचारकर्मी साथीहरुमा अनुरोध गर्दछौं ।’
न्युयोर्कमा सन् २०११ मा सम्पन्न तेश्रो अधिवेशनले वर्तमान कार्य समितिको नेतृत्व चयन गरेको थियो | आङछिरिङग शेर्पाको अध्यक्षतामा गठित वर्तमान कार्यसमितिको कार्यकाल आगामी मे महिनामा पुरा हुँदैछ ।
नेजाले सन् २०११ देखि प्रत्येक दुई वर्षमा नेपालको ग्रामीण क्षेत्रमा क्रियाशील एक जना पत्रकारलाई नेजा-बद्रीकूल पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ | नेजाका पूर्व पदाधिकारी शेखर ढुंगेलले आफ्ना आमाबुवाको स्मृतिमा यो पुरस्कार स्थापना गर्नु भएको हो | यसपटक यो पुरस्कारका लागि नाम छनौट गरी सिफारिश गर्न नेजाले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा नेपालमा एक सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ | सोही समितिले गरेको सिफारिशलाई आधार मानी पुरस्कृत पत्रकार चयन गर्न नेजा कार्य समिति सचिवालयले जिम्मेवारी बहन गर्नेछ | सचिवालयमा अध्यक्ष शेर्पा,वरिष्ठ उपाध्यक्ष गौतम दाहाल र महासचिव पन्थी रहनु भएको छ | यसैगरी नेजाको वार्षिक प्रकाशन प्रयास आगामी अधिवेशनमा सार्वजनिक गरी प्रकाशनको आवश्यक समन्वय गर्न नेजाले वरिष्ठ उपाध्यक्ष एवं ग्लोब नेपाल डट कमका संस्थापक सम्पादक गौतम दाहालको संयोजकत्वमा प्रयास प्रकाशन समिति गठन गरेको छ | नेजाले आगामी जनवरी १२ तारिख न्यूयोर्कमा स्थानीय समुदायका सदस्यहरुका लागि आधारभूत पत्रकारिता प्रशिक्षणको आयोजना गर्दैछ |
यसैबीच नेपाल पत्रकार महासंघ र नेजाबीच करीब एक वर्ष पहिले भएको सम्झौता अनुसार कर्णालीको जुम्लामा महासंघले गर्ने तालिमका लागि नेजाले ५० हजार रुपैया रकम उपलब्ध गराउने भएको छ |
 बीके पाल्पालीलाई एक लाख सहयोग
दुवै मृगौला खराब भई उपचार समस्यामा परेका पत्रकार वीके पाल्पालीको उपचार सहयोगार्थ नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले एक लाख एक रुपैयाँ सहयोग प्रदान गरेको छ । नेजाले आफ्नै श्रोत र सदस्य एवं शुभेच्छुकहरुबाट सहयोग संकलन गरी सोही रकम उपलब्ध गराएको हो |  उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले आइतवार राजधानीमा पाल्पाली पत्नी रेणुका भट्टराईलाई हस्तान्तरण गरे ।
महासंघको सञ्चारग्रामस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गाउँलेले उक्त रकम प्रदान गर्दै नेजाको सहयोग अमूल्य रहेको बताए । ‘यसले पत्रकारलाई अप्ठेरो पर्दा विश्वका जुनसुकै ठाउमा रहेका पत्रकारहरु एकजुट हुने सन्देश दिएको छ’,गाउँलेले भने । नेजा अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले पाल्पालीको उपचारमा सहयोग गर्न महासंघले सुरु गरेको पत्रकार बचाउन अभियान अन्तर्गत अमेरिकामा उठेको रकम महासंघमा पठाएका हुन् ।