मेटल कम्पनीमा चिनियाँको दुई अर्ब लगानी प्रस्ताव

547 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : चिनियाँ लगानीकर्ताले नेपाल मेटल कम्पनीको सबै दायित्व सकारेर थप दुई अर्ब लगानीको प्रस्ताव गरेका छन्। मेटल कम्पनी किनेर चलाउने इच्छा देखाएका दुई चिनियाँ कम्पनीले करिब दुई करोड अमेरिकी डलर (झन्डै दुई अर्ब नेपाली रुपैयाँ) लगानी थप्ने छुट्टाछुट्टै प्रस्ताव गरेका हुन्। उनीहरूले उद्योग मन्त्रालयलाई दुई साताअघि विस्तृत प्रस्ताव पठाउँदै दायित्व सकारेर थप लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्।

चीनको थाइयुन मिनरल्स प्रालि र साउथ चाइना माइनिङ इनर्जी कम्पनी प्रालिले मेटल कम्पनी किनेर चलाउने प्रस्ताव गत असोज कात्तिकमा पेस गरका हुन्। ‘दुईवटै कम्पनीले पठाएको छुट्टाछुट्टै प्रस्तावमा दुई करोड अमेरिकी डलरको हाराहारीमा थप लगानी गर्न प्रस्ताव आएको छ’, नेपाल मेटल कम्पनीका निमित्त प्रमुख हरि घिमिरेले भने, ‘कम्पनीको सबै सेयर र दायित्व किनेर थप लगानी गर्ने उनीहरूको प्रस्ताव हो।’

दुवै कम्पनीले पेस गरेको पहिलो प्रस्तावमा लगानीबारे विस्तृत विवरण नखुलाइएको भन्दै नेपाल मेटलको सञ्चालक समितिले विस्तृत प्रस्ताव पठाउन आग्रह गरेको थियो। सञ्चालक समितिको आग्रहअनुसार दुवै कम्पनीले विस्तृत प्रस्ताव पठाएका हुन्।

घिमिरेका अनुसार दुवै कम्पनीले पठाएको प्रस्ताव उस्तैउस्तै छ। उनीहरूले अहिलेका कर्मचारीलाई अवकाश दिने र सेयर एवं अन्य दायित्व खरिद गर्ने प्रणालीबारे समेत प्रस्तावमा उल्लेख गरेका छन्। चिनियाँ कम्पनीले पठाएको विस्तृत प्रस्तावबारे निर्णय भइसकेको छैन।

गणेश हिमालको फेदी र त्यसआसपासका क्षेत्रमा रहेको जस्ता र सिसा खानी उत्खनन र प्रशोधन गर्ने उद्देश्यले स्थापित मेटल कम्पनीले हालसम्म उत्पादन सुरु गर्न सकेको छैन। सरकारले २०३३ सालमा स्थापना गरेको यो कम्पनीले हालसम्म पूर्वाधार निर्माण र अध्ययनमा १८ करोड रुपैयाँ खर्च गरिसकेको छ। कम्पनी चलाउन अझै थप २५ करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान छ।

-अन्नपूर्ण पोस्ट दैनिक 

मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएको भन्दै यसले उत्पादन सुरु गर्न नसकेपछि सरकारले कार्यरत ४८ कर्मचारीलाई आर्थिक वर्ष २०६२/६३ मा अवकाश दिएको थियो। अहिले १० जना कर्मचारी कार्यरत छन्।

कम्पनीमा सरकारको ७१ प्रतिशत, खेतान समूहको १३ प्रतिशत रभारतको हैदरावाद इन्डस्ट्रिजको १६ प्रतिशत लगानी छ। खेतान समूहले नै कम्पनी किन्न सात वर्षअघि अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो, जसका विषयमा हालसम्म निर्णय भएको छैन। तर, खेतान समूहको प्रस्तावको विषयमा हालसम्म कुनै निर्णय भएको छैन।

जस्ता, सिसा र चाँदी रहेका विभिन्न ६ स्थानको पहिचान गरिसकिए पनि कम्पनीले प्रतिफल लिन सकेको छैन। धातु भएका स्थानको पहिचान गरी उत्खननका लागि पूर्वाधारसमेत बनाइसकिएको घिमिरेले बताए।

गणेश हिमाल आसपासमा करिब तीन लाख टन धाउ रहेको पहिचान भइसकेको छ। यो धाउबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपालको माग धान्ने अनुमान गरिएको छ। यस क्षेत्रबाट एक टन धाउ प्रशोधन गर्दा करिब एक किलो चाँदीसमेत आउने प्राविधिक प्रतिवेदन छ। रसुवाको तिप्लिङ गाविसमा रहेको प्रशोधन उद्योगसम्म पुग्न धुन्चे, स्याप्रुबेसी हुँदै सोमदाङसम्म मोटरबाटो निर्माण भइसकेको छ। यो कम्पनीको आर्थिक वर्ष २०६५/६६ देखि लेखापरीक्षणसमेत हुन सकेको छैन।