स्वास्थ्यक्षेत्रमा आईएनजीओको ६ अर्ब लगानी

477 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, – अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालको स्वास्थ्यक्षेत्रमा प्रतिवर्ष ६ अर्ब रुपैयाँ लगानी गरिरहेको जनाएको छ । केन्द्रीय स्तरमा नीतिनिर्माण तहदेखि स्थानीय स्तरका उपस्वास्थ्य चौकीका सेवासुविधालाई प्रभावकारी बनाउन सहजीकरण गरिरहेको आईएनजीओको दाबी छ ।
“आईएनजीओले नेपालको स्वास्थ्यक्षेत्रलाई जनमुखी बनाउन स्वास्थ्य मन्त्रालयदेखि उपस्वास्थ्य चौकीसम्म मिलेर काम गरेको छ, यो कामका लागि हामीले प्रतिवर्ष ६ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएका छौंं,” विश्व स्वास्थ्य दिवसको सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा आईएनजीओको अनौपचारिक सञ्जाल एआईएनका स्वास्थ्य समूह संयोजक दीपक सापकोटाले भने, “स्वास्थ्य उपचारमा सबैको सहभागिता प्रवद्र्धन गर्न आईएनजीओले मद्दत गरेको छ ।” सेवा दिनुपर्ने वर्ग र समुदायको सहभागिता, स्वास्थ्यसेवा सुदृढीकरण, स्वास्थ्यलाई मौलिक हकका रूपमा सचेतना विस्तार गर्न आईएनजीओले निरन्तर कोसिस गरेको उनले बताए ।
विभिन्न क्षेत्रमा काम गरे पनि आईएनजीओको पारदर्शितामा प्रश्न उठ्ने गरेको भन्दै सापकोटाले आईएनजीओ डलरको खेती नभएको र यसले आफ्नो उत्तरदायित्वलाई सकेसम्म निर्वाह गरेको बताए । खर्च र आम्दानीमा सबै आईएनजीओले पारदर्शिता कायम राख्नुपर्ने भन्दै उनले दातालाई बुझाउनका लागि पनि यसो गर्नु अनिवार्य भएको बताए । सरकारको उपस्थिति नभएको स्थानमा आईएनजीओले सेवा प्रवाह गरी जनताको सहज जीवनयापनमा सघाउ पु¥याएको उनले बताए । हाल सरकारले देशका पाँच जिल्लामा सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आईएनजीओले सहजीकरण गरिरहेको तथा मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सुविधा पु¥याउन काम गरिरहेको सापकोटाले जानकारी दिए ।
“स्वास्थ्य सेवाग्राहीको बाधा हटाउन, सुविधाको माग र प्रयोग बढाउन तथा विभिन्न रोगको रोगथाम र सेवा प्रवाहको काममा आईएनजीओले नेपालमा उल्लेखनीय काम गरेका छन्,” स्वास्थ्य मन्त्रालयका उपसचिव कविराज खनालले भने, “अधिकारमुखी अवधारणामा आईएनजीओले काम गरेकै कारण स्रोतको उपलब्धताअनुसार स्वास्थ्यक्षेत्रमा सहभागिता जुटेको छ ।” स्वास्थ्यसेवामा काम गर्ने स्थानीय संस्थाको सुदृढीकरण र सरकारले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको दिगोपनामा आईएनजीओले सहयोग गरेको उनले बताए । यद्यपि आईएनजीओले गोष्ठी, सेमिनार र तालिमजस्ता क्षेत्रमा आफूलाई बढी व्यस्त राख्दा सरकारले आवश्यक सहकार्य गर्न नसकेकाले देखिने ठोस काममा ध्यान दिन खनालले आग्रह गरे ।
एआईएनमा आबद्ध १ सय १२ मध्ये ४० आईएनजीओले नेपालमा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको संस्थाले जनाएको छ । हाल देशका ७२ जिल्लामा आईएनजीओले आफ्नो गतिविधि विस्तार गरेका छन् ।