धादिङमा महिना दिन भित्रै दुई महोत्सव हँुदै

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१५ पुस- धादिङ जिल्लामा एक महिनाको फरकमा समान उद्धेश्यका दुईवटा जिल्ला स्तरीय महोत्सवको आयोजना हुने भएको छ । जिल्लामा दुईवटा उद्योग वाणिज्य संघ सक्रिय रहेका कारण दुईवटै संघले आफ्नो अस्तित्व जोगाउन एक महिनाको फरकमा दुईवटा धादिङ महोत्सवको घोषणा गरेका हुन ।
एक बर्ष अघि स्थापना भएको उद्योग वाणिज्य संघ धादिङले आगामी माघ १५ देखि २३ सम्म बृहत्त कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला ( धादिङ महोत्सव) गर्ने भएको छ । सदरमुकाम धादिङबेसीमा हुन लागेको महोत्सवको तयारीमा जुटेको उद्योग वाणिज्य संघ धादिङले मुल आयोजक समिति तथा अन्य उपसमितिहरु गठन गरेर तयारी अघि बढाएको जनाएको छ ।
नयाँ संघको आयोजनामा सदरमुकाममा धादिङ महोत्सवको तयारी भईरहेको वेला धादिङ उद्योग वाणिज्य संघले भने फागुन महिनाको १७ गते देखि २५ गते सम्म पिडा गाविसको गलौंदी स्थित त्रिशूली नदीकिनारमा राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७० को घोषणा गरेको छ । दुई बर्ष अघि पनि धादिङ उद्योग वाणिज्य संघले सोहि स्थानमा बृहत्त धादिङ कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सम्पन्न गरेको थियो । सदस्यता बितरण र पुरानो सदस्यता नविकरणमा राजनैतिक आस्थाका आधारमा रोक लगाईएको,गैर उद्यमी व्यवसायीलाई संघको सदस्यता दिएको लगायतका आरोप लगाउंदै जिल्लाका केही व्यवसायीहरुले गत बर्षको मंसिरमा सामुहिक रुपमा धादिङ उद्योग वाणिज्य संघको सदस्यता परित्याग गरेका थिए । धादिङ उद्योग वाणिज्य संघले एकीकृत नेकपा माओवादी र नेकपा माओवादीको समर्थन पाएको छ भने उद्योग वाणिज्य संघलाई नेपाली काँग्रेस र नेकपा एमालेले समर्थन जनाएका छन । उद्योग वाणिज्य संघ धादिङलाई नेपाल उद्योग वाणिज्य महासंघले सदस्यता नदिएपछि जिल्लामा दुईसंघका बिच दुरी बढ्दै गएको छ ।
एक महिनाको फरकमा जिल्लामा दुईवटा महोत्सव हुने भएपछि दुवैसंघ आफ्नो घोषणा सफल पार्न र अस्तित्व जोगाउन कम्मर कसेर लागि परेका छन । समान प्रकृतिका दुईवटा संस्थाले एक महिनाको फरकमा एउटै लक्ष्य लिएर दुईवटा महोत्सवको आयोजना गर्न लागेपछि जिल्लाका सरकारी,गैरसरकारी तथा निजि क्षेत्र समेत अलमलमा परेको छ । राजनैतिक मत विभाजनका कारण दुईवटा संघलाई एउटै वनाएर लैजाने प्रयास असफल भएपछि दुवै संघले आफ्नो उपस्थिती देखाउन समान प्रकृत्तिको कार्यक्रम गर्न लागेको केही व्यवसायीहरुको बुझाई छ । महोत्सवको तयारी तीव्र पारिएको दुवै संघले जनाएको छ । एकै वर्षमा एक महिनाको फरकमा समान प्रकृत्तिको दुईवटा महोत्सव आयोजना हुन लागेको धादिङमा यो पहिलो हो ।
‘कृषि,उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्वृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नारा लिएको बृहत कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेला ( धादिङ महोत्सव) मा जिल्लाका निकासी योग्य कृषि उत्पादनहरु कफी, अदुवा, फलफुल तरकारी, कृषि औजार सामाग्रीहरु, हस्तकला, घरायसी उपभोगका सर सामानहरु, खाद्य परिकारहरु,शैक्षिक तथा पर्यटकिय महत्वलाई प्राथमिकता दिने संघका महासचिव लोकनाथ डल्लाकोटीले बताएका छन । सदरमुकाममा हुने महोत्सवमा बाल उद्यान्नका साथै प्रत्येक दिन स्थानीय तथा राष्ट्रियस्तरका गीत, नृत्य, दोहोरी गीतहरुको प्रस्तुती हुने वताईएको छ ।
त्रिशूली नदीको किनारमा हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७० मा पर्यटन,कृषि र जिल्लाको ब्यापार प्रबद्र्धनमा जोड दिइने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । बर्षभरीनै जलयात्राका लागि उपयुक्त मानिएको त्रिशूली नदीमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती बढाउन महोत्सवले सघाउ पु¥याउने संघका पुर्व अध्यक्ष ध्रुववहादुर थापाको भनाई छ । पानी दिवसको अवसर पारेर आयोजना गरिएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सव २०७०ले धादिङ जिल्लालाई विश्वभर चिनाउने आयोजकहरुको दावी छ ।