संरक्षण अभावमा मैदीकोट

1205 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैदी (धादिङ), पुस १६ – धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको मैदी गाविस ३ मा रहेको मैदीकोट उचित संवर्द्धन र संरक्षण अभावमा लथालिंग बनेको छ । सरोकारवाला र स्थानीयवासीले समेत संरक्षण र संवर्द्धनमा ध्यान नदिँदा मन्दिर भग्नावशेषमा परिणत हुन लागेको छ ।

कोटमा रहेको खड्गदेवीको मूर्ति, घण्ट, विभिन्न पुरातात्त्विक वस्तुहरू हराएको स्थानीय भक्तजन बताउँछन् । कोटका सम्पत्ति हराउँदै गएको र जग्गाजमिन समेत अतिक्रमण पर्न थालेको स्थानीयवासीले बताए । आर्थिक अभावकै कारण कोटको संरक्षण गर्न नसकिएको उनीहरूको भनाइ छ । मन्दिर सञ्चालनका लागि छुट्टयाइएको गुठी जग्गा संस्थाले रैकर गरेपछि कोट ओझेलमा पर्न थालेको स्थानीय बुद्धिजीवी कृष्णमान श्रेष्ठ बताउँछन् ।

संरक्षण र संवर्द्धन नहुँदा मूर्ति, घन्ट चोरी भए, मन्दिर र पुजारी घर भत्किएको छ, जग्गाजमिन अतिक्रमण भएका छन् । कोट परिसरमा झार मौलाएको छ भने छाना चुहिने र गाह्रो भत्कँदै गएको छ । यस क्षेत्रकै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मन्दिर क्रमशः ओझेलमा पर्दै गएको स्थानीय रामप्रसाद घिमिरेले बताए । ‘पहिले दैनिक र तिथिहरूमा ठूलठूला पूजा हुन्थ्यो,’ उनी भन्छन््, ‘पछिल्लो समय पूजापाठ पनि लोप भएको छ ।’

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न कोट प्रयोग गरेको बूढापाकाहरू बताउँछन् । शाहको व्रतबन्धसमेत सोही कोटमा गरिएको जनविश्वास छ । सात महिनामा जन्मेर राजा भएका पृथ्वीनारायणको व्रतबन्ध गोरखा दरबारबाट लुकाएर ल्याई मैदीकोटमा गरिएको स्थानीय जानकारहरूले बताए । गुठी संस्थानले मन्दिरको १२४ मुरी धान फल्ने खेत गुठी कमाउनेको नाममा दर्ता गरेपछि पूजापाठमा समस्या आएको स्थानीय डोरज शाहले बताए ।

मन्दिरमा न्यून पारिश्रमिकमा स्थानीय मगर जातिका पुजारीले पूजा गर्दै आएका छन् । ‘पुजारीलाई मासिक एक हजार र नगरा बजाउनेलाई पाँच सय पारिश्रमिक व्यवस्था गरिएको छ ।’ ३२ वर्षदेखि नगरा बजाउँदै आएका मेघे दमाईले भने । दसैंको महानवमी कालरात्रि, चतुर्दशी र माघेसंक्रान्तिमा ठूलो मेला लाग्नेमा मन्दिर भत्केकाले ती पनि लोप हुँदै गएको कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । ‘मन्दिर जीर्ण हुन थालेपछि दर्शन गर्न आउने भक्तजनको संख्या पनि घट्न थालेको छ,’ उनले भने । मैदी, ढोला, नलाङ, खरी, चैनपुर, सलाङ कम्पुर, मुरलीभन्ज्याङ लगायत गाविसका भक्तजनले भाकल गरेर यस मन्दिरमा पूजा गर्ने आउँथे । कोटको जीर्णोद्धार गरेर प्रचारप्रसार गर्न सके त्यस क्षेत्रको विकासमा टेवा पुग्ने श्रेष्ठ दाबी गर्छन् ।

ई कान्तीपुर डट कम