नदी अतिक्रमणले प्रभावित बन्दै त्रिशुली नदीको जलयात्रा

680 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस १८ – साहसिक जलयात्राका लागि पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्रिशुली नदी प्रदुषित बन्दै गएको छ । सरकारी निकायको बेवास्ताका कारण धादिङ भएर बग्ने त्रिशुली नदी दिनानुदिन प्रदूषित बन्दै गएको हो ।

नदी अतिक्रमणको चपेटामा पर्दै जानेक्रम बढ्दै गएपनि रोकथाम गर्नेतर्फ कसैको ध्यान पुग्न सकेको छैन । नदी किनारमा बढ्दै गएको अव्यवस्थित बसोबास र सहरीकरणले नदीलाई दूषित बनाएको हो । नदीबगर अतिक्रमण गरी उद्योग स्थापना र नदीजन्य पदार्थ उत्खननले त्रिशुली नदीको अस्तित्व संकटमा पर्न थालेको हो । प्राकृतिक श्रोतको उत्खनन र प्रयोग आर्थिक लाभको दृष्टिले मात्र नभई वातावरणमा असर नपर्ने गरी गर्नुपर्ने सर्वोच्च अदालतको आदेश बिपरीत त्रिशुली नदी उत्खनन र प्राकृतिक श्रोत ओसारपसार अहिले पनि भइरहेको छ । संरक्षणमा सरकारी निकायको बेवास्ताका काराण नदीको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको त्रिशुली बचाउ साझा अभियान धादिङका संयोजक उत्तम कँडेल बताउनुहुन्छ । बढ्दो वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संसारभर विभिन्न कार्यक्रम गरिरहँदा धादिङको त्रिशुली नदी र जलाधार क्षेत्रमा भने वातावरण एवं पर्यावरणीय महत्व समाप्त पार्ने गरी चौतर्फी अतिक्रमण बढिरहेको अभियानका संयोजक कँडेलको गुनासो छ । नदीबगर र छेउछाउमा खुलेका अवैध क्रसर एवं बालुवा प्रशोधन उद्योगहरुका कारण त्रिशुली नदीमा सबैभन्दा बढी प्रदूषण र अतिक्रमण भएको अभियानका सहसंयोजक जगन्नाथ नेपाल बताउनुहुन्छ । सरकारी निकायले वेवास्ता गरिदिएका कारण नदी अतिक्रमण गरी बस्ती बसाउने कार्य समेत तिव्र रुपमा हुन थालेकोले आगामी दिनमा नदीको अस्तित्व झनै संकटमा पर्दै जाने नेपालले बताउनुभयो । धादिङमा बग्ने त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन हुने गरी ठाउँ–ठाउँमा मेसिनको प्रयोग गरी उत्खनन् गर्ने गरिएको अभियान्ताको आरोप छ । उनीहरूका अनुसार नदीमा प्रयोग हुने मेसिनका कारण जलचर लोप हुने क्रमसमेत बढेको छ । त्रिशुली नदीको धादिङमा जलाधार क्षेत्र महेश, आग्रा, मलेखु, बेल्खु, थोपल, आँखुलगायतका नदी र खोलाहरूमा गैरकानुनी ढंगले प्राकृतिक श्रोत उत्खनन गर्ने कार्य चरम रूपमा बढिरहेको बचाउ अभियानका संयोजक कँडेलले बताउनुभयो । केही वर्ष अघिसम्म साहसिक जलयात्राका लागि पहिलो विकल्पको रूपमा रहेको त्रिशुली नदीमा अहिले पर्यटकहरुले पानी छुनसमेत घीन मान्ने गरेको नदी संरक्षण संघका महासचिव तथा जलयात्रा पर्यटन व्यवसायी मेघ आले बताउनुहुन्छ । त्रिशुली नदीमा बढ्दै गएको अतिक्रमण रोक्न आंफुहरुले नियमित गस्ती बढाएको प्रहरीको जिकिर छ । कसैले खोला र नदीमा मेसिनको प्रयोग गरेको भेटिए चालक र मेसिन धनीलाई नियन्त्रणमा लिई जरिवाना गराउने गरेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल गैरकानुनी कार्य गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभयो । प्राकृतिक श्रोेतको दिगो संरक्षण र आर्थिक श्रोत संकलन फरक कुरा भएकाले वातावरण संरक्षण प्राथमिकता प्राप्त कार्य भएको उहाँको भनाइ छ ।

-उज्यालो अनलाइनबाट