सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाटै पढाइने

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : सरकारले शिक्षाको स्तर उकास्न पढाइको माध्यम परिवर्तन गर्नुपर्ने निष्कर्षसहित १० वर्षे कार्ययोजना तयार पारेको छ। शिक्षा मन्त्रालयले तयार पारेको ‘शिक्षाको माध्यम भाषा मार्गचित्र’ मा विद्यार्थीलाई पढाइने भाषाको माध्यम परिवर्तन गर्नेदेखि पढाउन नसक्ने शिक्षकलाई अवकाश दिनेसम्म छ।

मार्गचित्रअनुसार प्रारम्भिक बालविकास र कक्षा एकदेखि तीनसम्म सिकाइको माध्यम पूर्ण रूपमा मातृभाषा हुनेछ। त्यस्तै कक्षा चार र पाँचमा मातृभाषालाई निरन्तरता दिँदै सामाजिक र विज्ञान विषयको माध्यम भाषा नेपाली बनाइनेछ। कक्षा ६ देखि आठसम्म नेपाली भाषालाई निरन्तरता दिँदै विज्ञान तथा वातावरण, गणित र प्राविधिक प्रकृतिका अन्य विषयलाई अंग्रेजी भाषाका माध्यमबाट पढाइनेछ।

मार्गचित्र कार्यान्वयनमा आाएपछि शिक्षकहरूले विश्वविद्यालय तहमा पनि अंग्रेजी माध्यमबाटै पढाउनुपर्नेछ। तर ऐच्छिक विषय ठनपाठन र परीक्षा भने सम्बन्धित भाषामै हुनेछ।

मार्गचित्रबारे छलफल गर्न सोमबार आयोजित कार्यक्रममा शिक्षामन्त्री माधवप्रसाद पौडेलले भने, ‘२०७३ सालमा कक्षा नौदेखि ११ सम्म्म भर्ना भएका विद्यार्थीको पढाइ ऐच्छिकबाहेक अन्य विषय पूर्ण रूपमा अंग्रेजी माध्यमबाट हुनेछ। २०७८ सालमा कक्षा आठदेखि माथि र २०८० मा कक्षा ६ देखि माथिको पढाइ पनि अंग्रेजी भाषामै हुनेछ।’

अहिले नेपाली माध्यमबाट पढाइरहेका शिक्षकलाई अंग्रेजी भाषामा दक्ष बनाउन अंग्रेजी भाषा समकक्षता परीक्षण परीक्षा सञ्चालन गरिनेछ। यस्तो परीक्षामा उत्तीर्ण हुन नसकेका शिक्षकलाई लाभप्रद अवकाश योजना तथा अन्य सुविधा दिई सम्मानजनक तरिकाबाट बिदाइ गर्ने योजना रहेको शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले बताए।

नयाँ नियुक्ति हुने शिक्षकलाई अबदेखि शिक्षक सेवा आयोगमार्फत अंग्रेजी तथा कम्प्युटर विषयको पनि परीक्षा लिइनेछ। अवस्थीले भने, ‘पुराना शिक्षकलाई तालिम दिने र नयाँलाई सूचना तथा प्रविधिमा ‘अपडेट’ गराउन नियुक्तिको समयमै परीक्षा लिइयो भने सहज होला भनेर यस्तो व्यवस्था गरिएको हो।’

मन्त्री पौडेलले शिक्षाकै कारण भविष्यमा दुई किसिमका नागरिक उत्पादन नहोऊन् भनेर नयाँ व्यवस्था गर्न लागिएको बताए। ‘सरोकारवाला सबैसँग छलफल गरेर नयाँ व्यवस्था लागू गर्न लागिएको हो। अब पनि परम्परागत शैलीमा शिक्षा पद्धतिलाई अघि बढायौं भने नेपाल विश्वमा अझ पछाडि पर्नेछ’, पौडेलले भने। तयार पारिएको मार्गचित्र पारित गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी पनि उनले दिए।

-अन्नपूर्ण पोस्ट