एमाओवादीका डेढ सय नेता घटुवामा

544 पटक पढिएको

प्रकाशित मिति: २०७०, २२ पुष सोमबार १४:०३

सम्पादक: Dhadingnews.com

 

 

एमाओवादीका डेढ सय नेता घटुवामा

काठमाडौं, २२ पुस । पार्टीको सांगठानिक संरचनालाई सानो आकारको बनाउने अभियानमा लागेको एकीकृत नेकपा एमाओवादीका डेढ सय केन्द्रीय नेता घटुवामा पर्ने भएका छन् ।

पुस २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको प्रतिवेदन पेश गर्न गुप्तबासमा बसेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको सांगठानिक संरचना बनाउने प्रस्ताव लैजाने भएपछि अधिकांश नेताहरु घटुवामा पर्ने निश्चित भएको हो । अहिले पार्टीको केन्द्रीय समिति ९९ जनाको बनाउने कि ५१ जनाको भन्ने बहस चलिरहेको एक नेताले बताए । ९९ जनाको मात्र केन्द्रीय समिति हुँदा १ सय ६७ जना घटुवामा पर्नेछन् । ५१ जनाको केन्द्रीय समिति हुँदा २ सय १५ जना घटुवामा पर्ने बताइएको छ । डेढ सय वैकल्पिक समेत गरी एकीकृत माओवादीको केन्द्रीय समिति २ सय ६६ सदस्यीय छ ।

चुनावी परिणामपछि घोत्लिएको एमाओवादीले भद्दा सांगठानिक संरचनाकै कारण पार्टी कामकाजी नभएको निष्कर्ष निकालेको थियो । खासगरि, शीर्ष नेता मध्येका एक डा. बाबुराम भट्टराईले सांगठानिक संरचना भद्दा भएको भन्दै सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेपछि एमाओवादीभित्र सांगठानिक बहस सुरु भएको हो । जुन बहसले यसअघिका केन्द्रीय समिति र पूर्व पोलिटव्युरोमा प्रवेश पाइसकेको छ ।

maoist-office

एमाओवादी करिब–करिब फागुनमा सांगठानिक सम्मेलन गर्ने तयारीमा छ । त्यसका लागि अध्यक्ष प्रचण्डले आगामी केन्द्रीय समितिमा प्रस्ताव लैजान लागेका हुन् । सांगठानिक संरचना सानो बनाउने प्रस्ताव लगे भट्टराई लगायतका असन्तुष्ट नेताको माग सम्बोधन हुने निष्कर्षमा प्रचण्ड छन् । भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठले चित्त नबुझे अर्कै प्रतिवेदन ल्याउने चेतावनी दिएकाले पनि प्रचण्ड गम्भीर बनेका छन् ।

केन्द्रीय समितिमा घटुवा भए त्यसको असर तल्लो तहसम्म पुग्नेछ । पुराना र नवप्रवेशीलाई मिलाउन खोज्दा एमाओवादीको सांरचानिक संगठन ठूलो र भद्दा बनेको छ ।

केन्द्रीय समितिदेखि जिल्ला समितिका बैठक समेत नियमित हुन सकेका छैनन् । अनावश्यक भद्दा कमिटी भएका कारण पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास हुन नपाएकाले केन्द्रीय समिति बैठकबाट सबै तहका संगठनलाई सानो बनाउन अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी गरेको स्रोतले बतायो ।

एमाओवादीमा सांगठानिक संरचनाका विषयमा बहस चर्किएको यो नै पहिलो भने होइन । यसअघि २०६२ कात्तिकमा बसेको चुनवाङ बैठकले पनि ६३ जनालाई घटुवा गरेको थियो । ९९ जनाको केन्द्रीय समिति ३३ सदस्यीय बनेको थियो ।

सांगठानिक संरचनामार्फत केन्द्रीय समिति सानो बनाइए सबैभन्दा बढी दबाब भने प्रचण्डलाई नै पर्नेछ । किनकी केन्द्रीय समिति र यसअघिको पोलिटव्युरोमा पनि प्रचण्डकै बहुमत छ । आफूलाई अनुकुल पर्ने भएकाले नै अहिले पनि प्रचण्डले समस्या पर्दा पोलिटव्युरोको बैठक बोलाउने गरेका छन् । केन्द्रीय समितिका आफू पक्षीय नेताहरु नै बढी घटुवामा पर्ने भएकाले त्यसको व्यवस्थापन गर्ने प्रचण्डलाई अर्को महाभारत पर्ने एक नेताले बताए ।

स्वतः घटुवा र स्वतः बढुवा गर्न पाइदैन : शर्मा

सांगठानिक संरचना सानो बनाउने बहस जारी रहेपनि समूहगत रुपमा नाम घटाउने र थप्ने आफूहरुलाई मान्य नहुने केन्द्रीय सदस्य हिमाल शर्माले बताएका छन् । नेता शर्माले स्वतः घटुवा र स्वतः बढुवा आफूहरुले नमान्ने बताए ।

पार्टी संरचनालाई सानो बनाउनुपर्छ भन्नेमा आफूहरु सहमत रहेपनि सनकका भरमा थपघट गर्न नपाइने उनको भनाइ थियो । शर्माले सांगठानिक सम्मेलनले नै पार्टीको आगामी सांगठानिक संरचना तय गर्नुपर्ने बताए ।

-दैनिक नेपाल



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २२ पुष सोमबार १४:०३ मा प्रकाशित