चिसोले चिस्याइदिएको माहोल !

712 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-शोभा अधिकारी
Shova-1अरुलाई दुःख दिने, अप्ठ्यारोमा पार्ने नियत मान्छेको मात्र हो भन्नु पनि ठिक जस्तो लागेन । लेखाउनु पर्ने भन्दा बढी शक्ति देखाएर घमण्डी बन्ने नियति यो जाडोसँग पनि रहेछ क्यारे ! खुब फुर्ति देखाउन थालेको छ आजकाल यसले । पोखरीको पानी जसरी जमाइदिएको छ मन, मस्तिष्क ने त्यसैले होला सृजनात्मकता पनि त्यति सारो फिरे जस्तो लाग्दैन । पुसको ठण्डीले होला आजकल दिमाग अन्त सोच्न मान्दैन, सोचे पनि आगो, घाम मात्र । घाम सोच्न सक्ने दिमागले घामजस्ता रापिला कुरा किन सोच्न सक्दैन भनि कहिलेकाहीँ म एक्लै – एक्लै सोच्ने गर्छु । उसैले हामी विवेकशील मानवजाति अरुको राम्रो, राम्रो उन्नति प्रगति हेर्नु, सुन्नु पर्ने वर्गका प्राणी । यो पुसको  कुहिरोले हेर्ने अवसर नै दिदैन । हामीलाई कुहिरो र चिसो छिचोलेर बाहिरी परिवेशमा जान खुब अप्ठ्यारो परेको छ आजकाल । एकसरो लाुगा किन्न नसक्नेहरुमा र एयर कन्डिसनर रुममा बस्नेहरुको जाडो एकै भएर होलान् उस्तौ वेगमा पस्छन् आफ्नो क्रुरता देखाउँदै । हुन त यो चिसोले नि सोचिदिए हुनेथ्यो नि गरीबका झुपडीमा मेरो आवश्यकता छैन भनी तर यो सबैलाई समान दृष्टिकोणले हेर्न खोज्दो रहेछ । एक पक्षबाट चिसोको यो बानी भने ठिकै लाग्यो तर के गर्नु देशको उच्च आहोदामा बसेकाहरुमा यस्तो विचार पसे त सबैको हित गथ्र्यो होला नि ?
बिचरा चिसो बढेर होला ती सभासदको पगेरी गुथेर नयाँ बानेश्वर पुगेकाहरुमा पनि त्यति फुर्ति छैन । बरु आजकाल सोचेका होलान् के दशाले सभासद् भएछु, कमसेकम हार्न पा भए त घरकै कुनामा आगो तापेर नेताहरुलाई सराप्दै बस्न पाइन्थ्यो भनेर । आफैँ नेता भै टोपल्या छन् के गरुन् ? संविधान निर्माणको काम अलिक पछि घाम पारिलो हुने दिन आएपछि सुरु गरेपनि हुन्छ भन्नेहरु पनि होलान् । उनीहरुलाई संविधान बनाउनु भन्दा आफ्नो पार्टीको राष्ट्रपति, प्रधानमन्त्री हुनुपर्ने चिन्ता छ, ती झुपड बस्तीका प्रियजनलाई चिसोको चिन्ता परे जस्तै । एकपटक निर्माण गरेको संविधान सभाको फिल्मले फल्प आएपछि, ठूलो लगानीमा अर्को संविधान सभा चलचित्र निर्माण गरेका छन् । दर्शक भन्दा रङ्गकर्मी धेरै भएर होला फिल्मको काम त्यति रफ्तारमा चलेको छैन । हुन त पुसको यो छोटो दिनमा नभ्याएका पनि होलान् उनीहरुले । अहिले त उनीहरुलाई चिया वार्ता गर्दै फुर्सद छैन संविधानको काम सुरु गर्न को के वास्ता ? उनीहरुलाई भत्ता पकाउन सजिलै छ त दुइ–चार कप चियासँगै दुई–चार गफ दिएपछि पुसको दिन त हो बितिहाल्छ नि । चिसो त तिनीहरुलाई पनि पक्कै भाछ होला । उही पैसाको र पदको रापले ताप दिएर जोडले कुद्या छन् । ठिकै छ जे होस् सम्पूर्णमा यो चिसोले रापिलो मन्त्र फुराइदिओस् । गङ्गाको पानी जस्तै विचारहरु कञ्चन तुल्याइदिओस्, कठ्याङ्गिएका हातहरुलाई सृजनात्मकताले तताइदिओस् र ठण्डीमा खुम्चिएका मनहरुमा प्रकाश छरिदिओस् यति भएमा मात्र हामी यो जाडो स्वीकार गर्छौँ नत्र जाडो विरुद्ध हामी सबै उत्रने छौँ यसलाई जित्न सक्ने आगोका झिल्काहरुको साथ ।