वर्षाको पानीले खुसी ल्यायो ब्रुसबाङबासीमा

629 पटक पढिएको

प्रकाशित मिति: २०७०, २६ पुष शुक्रबार ०३:३६

सम्पादक: Dhadingnews.com

 

 

धादिङ, २५ पुस- बर्षैभरी खानेपानीको चरम संकट हुने जिल्लाको महादेवस्थान–३ ब्रुसबाङ गाउँमा बर्षाको पानी संकलनपछि संकट हटेको छ । खानेपानी पानी संकलनका लागि ब्रुसबाङका २६ वटै घर नजिक जस्ताको छाना भएको टहरा बनाइ एक हजार लिटरको प्लाष्टिक ट्याङकी राखिएको छ । गाउँ नजिकै खानेपानीको कुनै श्रोत नहुँदा समस्या झेल्दै आएका ब्रुसबाकङबासी घरसँगै पानी ट्याङ्की भएपछि निकै खुसी बनेका छन ।SAM_0073

ब्रुसबाङ गाउँ धादिङ जिल्लाको दक्षिणी भेगको सबैभन्दा उचाईको बस्ती हो । समुद्री सतहवाट २२ सय मिटर उचाईमा रहेको यस बस्तीको नजिक पानीको मुहान नहुँदा यहाँका बासिन्दालाई वर्षातको पानी संकलन गरेर पिउनु पर्ने बाध्यता भएको हो । गएको भदौ महिना सम्मपनि गाउं देखि तीन घण्टा तल रहेको बाङकुर्तीको भिरमा रहेको कुवामा पुगेर पानी ल्याएर निर्वाह गर्ने गरेकोमा भदौ पछि ब्रुसबाङका २६ घरधुरीले आकाशे पानी संकलन गर्न घर–घरमा प्लाष्टिक ट्याङकी राखेर पानी संकलन गरेर पिउने पानीको व्यवस्था मिलाएको स्थानीय सिद्धिवहादुर चेपाङले बताए ।

”गाउं देखि तीनघण्टा तल रहेको मुहानबाट माथि तिर पानी ल्याउन ठुलो लगानी गर्नुपर्ने भएपछि श्रोत जुटाउन नसक्दा प्लाष्टिक ट्याङकीमा जम्मा गरेको पानी पिउने गरेका छौं,” उनले भने । पृथ्वीराजमार्गको मलेखुवाट आठ घण्टाको पैदल दूरीमा रहेको यो बस्तीमा वर्षातको आकासे पानी संकलन गरेर हिउदभरि पिउन शुरु गरेपछि पानी बोक्ने समय यहांका वासिन्दाले अन्य काममा लगाउन पाएका छन । गाउँमा चेपाङजातीको मात्र वसोवास रहेको छ । सिमान्तकृत समुदायमा सुचिकृत चेपाङ समुदायको अधिकांशको घरमा खरको छानो छ ।

जनता आवास कार्यक्रमले यहांका आठ परिवारलाई नयां घर वनाईदिएको छ । जिल्ला विकास समिति धादिङ,महादेवस्थान गाविसको कार्यालय र गैर सरकारी संस्था शान्ति नेपालको संयुक्त प्रयासमा प्रत्येक घरलाई चारपाता जस्ता र एक हजार लिटरको प्लाष्टिक ट्याङकी सहयोग गरेपछि गाउंलेहरुले जस्ता पाताको सहयोगले आकाशे पानी ट्याङकीमा खसाउने व्यवस्था मिलाएका हुन । गाउं नजिकै खानेपानीको श्रोत नभएकाले वासी पानी प्रयोग गर्नुको विकल्प नभएको गाउंवासी वताउंछन । वर्षौदेखि ब्रुसबाङका वासीन्दाले गाउंदेखिे तीन घन्टा टाढा रहेको बाङकुर्तीको भिरमा रहेको पंधेरोको पानी ओसारेर खाने गरेका थिए ।

खानेपानीको समस्या झेल्दै आएका यहाँका बासिन्दाले शुरु गरेको आकाशे पानी संकलन कार्यले गाउंवासीलाई राहत पुगेको छ । प्लाष्टिकका ट्याङकी लामो समयसम्म टिकाएर राख्न नसकिने भएकाले प्रत्येक घरमा सिमेन्टको घैंटा बनाउन सके ब्रुसबाङको खानेपानी समस्या केही हल हुने स्थानीय अगुवा टेकवहादुर चेपाङले वताए । पहिले दिनभर लगाएर एक गाग्री पानी ल्याउनु पथ्र्यो अहिले बासी भए पनि आागनमै पानी पाइएको छ, दिलमाया चेपाङले खुशी ब्यक्त गरिन ।

ई-राजधानी डट कमबाट



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २६ पुष शुक्रबार ०३:३६ मा प्रकाशित