एमाले सभासदलाई ड्रेसकोड

661 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,- नेकपा एमालेका सबै सभासद् राष्ट्रिय पोसाक दौरा–सुरुवाल र भादगाउँले टोपी तथा साडी–चोलो लगाएर संविधानसभामा सहभागी हुने भएका छन् । अध्यक्ष झलनाथ खनालको निर्देशनअनुसार आगामी ७ माघमा हुने संविधानसभाको पहिलो बैठकको शपथग्रहण समारोहमा एमालेका १ सय ७५ सभासद् एउटै पोसाक ‘ड्रेस कोड’मा सहभागी हुन लागेको खबर आजको राजधानीमा छापिएको छ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र पहिचानको सन्देशसहित एमालेले आफ्ना सभासद्लाई पहिलो बैठकमै ड्रेस कोडमा उपस्थित हुन निर्देशित गरेको छ । एमालेले पुरुष सभासद्का लागि सामान्यतया सेतो रङको दौरा–सुरुवाल, सरकारी कर्मचारीहरूले लगाउँदै आएको गाढा नीलो रङको कोट तथा भादगाउँले टोपीमा शपथग्रहण समारोहमा सहभागी हुन निर्देशित गरेको छ ।
त्यस्तै, महिला सभासद्लाई जुनसुकै रङको साडी, चोलो लगाए पनि पुरुष सभासद्हरूले लगाउने रङकै कोटमा उपस्थित हुन भनेको छ । सामान्यतयाः सबै सभासद्लाई एउटै ‘ड्रेस कोड’मा अनिवार्य उपस्थित हुन भने पनि जनजाति समुदायका सभासद्का हकमा भने सो ‘ड्रेस कोड’ स्वैच्छिक गरिएको छ । उनीहरूले आफ्नो जातीय सांस्कृतिक पहिचान झल्किने वेशभूषाको ‘ड्रेस’मा पनि बैठकमा सहभागी हुन पाउनेछन् ।
अध्यक्ष खनालको निर्देशनअनुसार केन्द्रीय सचिवालय सचिव विष्णु पौडेल, एमालेका अञ्चल संयोजक, सचिव र सम्बन्धित भूगोलका केन्द्रीय सदस्यहरूले आ–आफ्ना क्षेत्रका सभासद्लाई पार्टीले तय गरेको पोसाकमा उपस्थित हुन भनेका छन् । केन्द्रीय सचिवालय सचिव पौडेलले पार्टी अध्यक्षकै निर्देशनअनुसार ‘ड्रेस कोड’को व्यवस्था गरिएकाले सोहीअनुरूप उपस्थित हुन निर्देशित गरिएको बताए ।
सरकारी औपचारिक समारोहमा गरिएको अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गर्दै ड्रेस कोडमा आउन निर्देशित गरिएको एमालेको भनाइ छ ।
राष्ट्रिय एकताको सन्देश र पार्टीको पनि छुट्टै पहिचान झल्किने गरी पार्टीले ‘ड्रेस कोड’ तय गरिनु स्वागतयोग्य भन्दै पार्टी निर्देशनअनुसार सभासद्हरूले पोसाकको तयारीसमेत गरेका छन् ।
जनजाति, मधेसी समुदायका सभासद्हरूले सबै समुदायको आ–आफ्नै वेशभूषा पनि राष्ट्रिय नै भए पनि राष्ट्रको साझा पहिचान झल्किने गरी पार्टीले सामान्यतया एउटै भने पनि स्वैच्छिक रूपमा निर्देशन गरेकाले धेरैजसोले दौरा–सुरुवालमै सहभागी हुने बताएका छन् ।
‘हामीले राष्ट्रिय पोसाकको कुरालाई लागू गर्नैपर्छ, मुलुक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भए पनि राष्ट्रिय भाषा, राष्ट्रिय पोसाकको आफ्नै महव हुन्छ, एकरूपता ल्याएर हामी नेपाली हौं भन्ने पहिचानका लागि पनि यो अत्यन्त आवश्यक थियो,’ तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने पर्साका सभासद् नागेन्द्र चौधरी थारूले भने, ‘यो मुलुकमा बहुजाति र बहुसांस्कृतिक मानिस सबैका आ–आफ्ना पोसाक छन् तर तिनलाई अराष्ट्रिय भन्न मिल्दैन, त्यसैले कसैले आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाक लगाएर आउँछन् भने पनि त्यसलाई हामीले अन्यथा लिन मिल्दैन ।’
उनले एमाले सभासद्ले मात्रै नभएर सकभर सबै दलदेखि स्वतन्त्र सभासद्सम्मले शपथग्रहणमा साझा पोसाकसहित सहभागी हुँदा सकारात्मक सन्देश दिने जनाउँदै पार्टीले निर्देशन नदिएको अवस्थामा पनि साझा पहिचानको दौरा–सुरुवालमै आपू्क सहभागी हुने तयारीमा रहेको जानकारी दिए ।
-सेतोपाटी डट कम