धादिङका बजार भन्दा गाउँ बढी उज्यालो

679 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ११ माघ – विद्युत उत्पादनमा आएको कमीका कारण लोडसेडिङ बढ्दै गइरहेको बेला धादिङका ग्रामीण भेगहरु भने लघु जलविद्युत्त आयोजनाका कारण झिलिमिलि बन्दै गएका छन् ।

जिल्लाको उत्तरी भेगमा भेगमा पर्ने बुढाथुम र मुलपानी गाविसका अधिकांश घरमा लघुजलविद्युत्तवाट उत्पादित बिजुली पुगेको छ ।

दुई गाविसको सिमानामा रहेको मनपाङ खोला र अन्य साना खोलाहरुबाट दुवै गाविसमा गरी अहिलेसम्म १५ वटा साना तथा ठुला जलविद्युत्त आयोजना सञ्चालनमा आइसकेको छ ।

ति मध्ये ६ वटा जलविद्युत आयोजना मनपाङ खोलामा निर्माण गरिएको मुलपानी गाविसका पूर्व अध्यक्ष तथा लघु जलविद्युत उपभोक्ता संघ धादिङका अध्यक्ष शम्भु थापा बताउनुहुन्छ ।

यसैगरी दक्षिणी धादिङको महादेवस्थान गाविसमा पर्ने मलेखुखोलामा पनि चार वटा आयोजना निर्माण सम्पन्न भई विद्युत्त उत्पादन सुरु भइसकेको छ ।

धादिङको मनपाङ खोला लघु जलविद्युतबाट मात्र ८७ किलोवाट र पेल्ट्रिक सेटबाट मुलपानीमा १७.५ किलोवाट, बुढाथुममा १० किलोवाट विद्युत उत्पादन भइरहेका छन् ।

धादिङका ७३ हजार ८ सय ५१  घरधुरीमध्ये ३६ हजार १ सय १६ घरपरिवारले अहिल सम्म विद्युत तथा अन्य ऊर्जाको प्रयोग गरिरहेको जिल्ला विकास समितिको तथ्यांकले देखाएको छ ।

केन्द्रीय प्रसारण लाइन जोडिएका बजार क्षेत्रमा लोडसेडिङ बढिरहेका बेला ग्रामिण क्षेत्रमा भने ढुक्कले बत्ती बाल्न पाइएको स्थानीय बासिन्दा बताउँछन् ।