एमाले संसदीय दलको नेतामा ओली निर्वाचित

550 पटक पढिएको

प्रकाशित मिति: २०७०, २१ माघ मंगलवार १३:२६

सम्पादक: Dhadingnews.com

 

 

झलनाथ खनाल र केपी ओली (तस्बीर: अन्नपूर्ण)
झलनाथ खनाल र केपी ओली (तस्बीर: अन्नपूर्ण)

काठमाडौं : नेकपा एमाले संसदीय दलको नेतामा केपी ओली विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष झलनाथ खनाललाई २३ मतले पराजित गर्दै ओली नेता चयन भएका हुन्।

एक सय ७३ मतदाता रहेकोमा ओलीले ९८ मत ल्याए। अध्यक्ष खनालले ७५ मत ल्याएका थिए।

दलको नेता बन्न कम्तिमा ८७ मत आवश्यक थियो।

मंगलबार अपराह्‍न ४ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा विद्युतिय प्रणालीमा मतदान सुरु भएको थियो।

सहमतिका लागि पटकपटक भएका प्रयासहरु असफल भएपछि दलको नेताका लागि अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीबीच प्रतिस्पर्धा भएको हो। खनाललाई नेता माधवकुमार नेपालको समर्थन थियो भने ओलीलाई नेता बामदेव गौतमले समर्थन गरेका थिए।

अध्यक्ष खनालको प्रस्तावकमा माधव नेपाल र समर्थकमा अष्टलक्ष्मी शाक्य थिइन्। ओलीको प्रस्तावकमा वामदेव गौतम र समर्थकमा विष्णु पौडेल थिए।

यसअघि सहमति गर्न मंगलबार बसेको बैठक बिना सहमति टुंगिएपछि दलको नेताका लागि खनाल र ओलीको भिडन्त पक्का भएको थियो।

संसदीय दलको नेता बन्न अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले सोमबार मध्यरातसम्म प्रयत्न जारी राखेका थिए। राति साढे ९ बजेपछि ओली र उपाध्यक्ष वामदेव गौतम अध्यक्ष खनाललाई भेट्न डल्लु पुगेका थिए।

एमाले पोलिटब्यूरो सदस्य महेन्द्र पाण्डेले सहमतिबाटै दलको नेता चयनका लागि निर्वाचन भएको बताए।

निर्वाचन कार्यक्रमअनुसार दलको नेतामा मनोनयन दर्ताका लागि एउटा पासपोर्ट साइजको फोटो सहित  १० हजार रूपैयाँ धरौटी राख्नुपर्छ।

-अन्नपूर्ण पोस्ट दैनिकबाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २१ माघ मंगलवार १३:२६ मा प्रकाशित