धादिङमा दुई युवकको हत्या

552 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २४ माघ – पछिल्लो समयमा धादिङ जिल्लामा व्यक्ति हत्याका घटना बढ्न थालेको छ । धादिङमा दुई युवकको हत्या भएको एक महिना नवित्दै अर्का दुई युवकको पनि हत्या भएको छ ।
नुवाकोट जिल्लाको सामरी गाविसका पहलमान तामाङको शुक्रवार दिउंसो ससुराली आएको वेला धादिङको सेम्जोङमा कुटपिट पछि हत्या भएको छ । विहिबार सामरीमा सडक खन्ने क्रममा विवाद भएपछि ससुराली आएका तामाङलाई सामरीवाट आएका ७÷८ जनाको समुहले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।
पहलमानको हत्यामा सेमजोङ र सामरीका युवाहरु संलग्न रहेको जानकारी प्राप्त भएकाले यस वारेमा अनुसन्धान शुरु गरिएको र घटनास्थलमा प्रहरी पठाईसकिएको पनि प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएका व्यक्तिहरु चढेको मोटरसाईकलको नम्बर खुलि सकेकोले मोटरसाईकल भाग्न सके सवै दिशामा प्रहरी परिचालन गरि हत्यामा संलग्नहरुको खोजी शुरु गरिएको वताईएको छ । घटनास्थल सदरमुकाम भन्दा टाढा भएकाले पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
विहिबार साँझ पनि जिल्लाको गजुरी गाविस–१ मा भवन निर्माणमा कार्यरत मजदुरहरु बिच झगडा हुदाँ धनकुटा जिल्लाको बुढीमोरङका २५ वर्षिय सरोज लिम्बुले फलामको रडले टाउकोमा प्रहार गरि दाङ घोराहीका ३५ वर्षिय सञ्जय ठकुरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न लिम्बुलाई प्रहरीले शुक्रबार प्रक्राउ गरेको छ ।
धादिङ जिल्लामा पछिल्लो समयमा व्यक्ति हत्याका घटना बढ्दै गएको छ । उत्तरी धादिङका दुई युवकको हत्या भएको महिना दिन पुरा नहुदै शुक्रबार साँझ जिल्लाको उत्तरीक्षेत्रको सेम्जोङ गाविसमा अर्का युवकको हत्या भएको घटना वाहिर आएको हो । एक महिना अघि जिल्लाको फुलखर्क र दार्खामा एक एक जना युवकको हत्या भएको थियो ।