विवाहका आडमा बलात्कार

554 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • अञ्जली रम्तेल
    काठमाडौं २५ माघ (ओएनएस) : ‘आज शारीरिक सम्पर्कको इच्छा छैन भनेर म सधैँजसो सम्झाउँथेँ, तर उसलाई मेरो इच्छा र अनिच्छासँग कुनै सरोकार थिएन । जबर्जस्ती गथ्र्यो । म के नै गर्न सक्थेँ र उसको विरुद्धमा ? चुपचाप सहिदिन्थेँ,’ २५ वर्षीया सुष्मा लामा (नाम परिवर्तन) ले आफूले लोग्नेबाटै भोग्नुपरेको यौनहिंसाको थप कथा यसरी सुनाइन्, ‘ऊ मेरो सोचाइ, मेरो इच्छा, आकाङ्क्षा केहीको पनि ख्याल गर्दैनथ्यो । जबर्जस्ती गथ्र्यो ।’ उनले भनिन्, ‘तर, अहिले पनि म सबै कुरा बाहिर ल्याउन सक्दिनँ । समाजले पत्याउनै नसक्ने यस्तो कुरा म कसरी सबैलाई सुनाऊँ ?’
    २१ वर्षीया कुन्ती चौधरी (नाम परिवर्तन) जसको विवाह भएको एक वर्ष पनि पुगेको छैन उनी पनि यस्तै यौनहिंसाबाट पीडित छिन् । तर पनि यो कथा कसैलाई भन्न सक्दिनन् । भन्छिन्, ‘यदि म शिक्षित भएकी भए यसको विरोध गर्न सक्थँे होला । तर, लोग्नेको विरोध गरेर
    म कहाँ जाने ? मैले के खाने ? म चुपचाप सहेर बसेकी छु ।’
    हुँदाहुँदा महिनावारी भएको बेलामा समेत लोग्नेले गर्न नछोड्ने गरेको पीडा उनले सुनाइन् । ‘अरू बेला त सहेकै थिएँ, तर महिनावारी भएको बेलामा खप्नै नसक्ने गरी गाह्रो भयो । कहिलेकाहीँ त त्यो हिंसाबाट मुक्ति पाउन माइती पनि गएँ । तर, कति दिन माइती गएर बस्नु ?’
    विवाहपछि लोग्नेको आनीबानीमा आउने परिवर्तनका कारण महिलाले हिंसा व्यहोर्नु परिरहेको पनि देखिन्छ । सुरुसुरुमा लोग्नेहरू राति ब्लुफिल्म हेर्ने, श्रीमतीलाई पनि हेर्न लगाउने गर्छन् । यतिमा सीमित हुन्न यो काम । पछि गएर श्रीमतीले फिल्ममा जस्तै गरिदिनुपर्छ लोग्नेका लागि । एकजना पीडित भन्छिन्, ‘सुरुमै मैले त्यसको विरोध गरँ । हामीबीच झगडा हुन थाल्यो । उनको बानी बदलिएन, म दिक्क भएर अहिले माइतीमा नै बस्न थालेकी छु ।’
    विवाहपछि आफ्नै लोग्नेबाट हुने बलात्कारका घटना पछिल्लो समयमा बिस्तारै बाहिर आउन थालेका छन् । वातावरण, स्वास्थ्य, जनसङ्ख्या क्रियाकलापसम्बन्धी अनुसन्धान केन्द्र (कृपा) ले सन् २०१० मा वैवाहिक बलात्कारसम्बन्धी एक अध्ययन गरेको थियो ।
    नेपालका पाँचै विकास क्षेत्रलाई समेटेर गरेको सो अध्ययनले वैवाहिक यौनजन्य हिंसामा पर्नेमध्येमा मुस्लिम समुदायका महिला सबैभन्दा बढी ४३ प्रतिशत रहेको देखाएको थियो । यसैगरी थारू समुदायका महिला ४० प्रतिशत, तामाङ समुदायका महिला २२ प्रतिशत र ब्राह्मण–क्षेत्री समुदायका २० प्रतिशत महिला वैवाहिक बलात्कारमा पर्ने गरेको सो अध्ययनले देखाएको थियो ।
    यौनहिंसाका कारण महिलामा विभिन्न शारीरिक तथा मानसिक समस्या देखापर्ने अध्ययनले देखाएको थियो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ सरिता घिमिरेका अनुसार यौनहिंसामा परेका कतिपय महिलामा मानसिक रूपमा समेत गम्भीर असर देखिएको छ । त्यसबाहेक शारीरिक रूपमा समेत ती महिलामा तल्लो पेट दुख्ने, यौन अङ्ग सुन्निने, दुख्ने, पोल्ने, अत्यधिक रक्तश्राप हुनुका साथै गर्भावस्थामा समेत समस्या हुने गरेको घिमिरेको भनाइ छ ।
    वैवाहिक बलात्कारमा पर्ने सबैजसो महिलाले समाजमा इज्जत जाने र न्याय नपाउने डरले घटना बाहिर ल्याउने गर्दैनन् । तर, यस्तो अपराधबाट जोगिन केही न केही उपाय अपनाउने गरेको अध्ययनले देखाउँछ ।
    कृपाका अनुसन्धानकर्ता प्रभात लामिछानेका अनुसार, धेरैजसो महिलाले आफ्ना श्रीमान्लाई सम्झाउने गरेका छन् । अति नै गर्न थालेपछि यस्तो पीडाबाट बच्नका लागि महिनावारी भएको बहाना गर्ने, बच्चालाई आफूसँग सुताउने, भिन्दै कोठामा सुत्ने, बिरामी भएको बहाना गर्नेजस्ता उपाय अपनाउने गर्छन् ।
    ४९ दशमलव ४ प्रतिशत महिला मात्रै यस्तो उपायबाट बच्न सफल हुने गरेको अध्ययनले देखाएको छ । अशिक्षित, जाँडरक्सी धेरै पिउने, एकभन्दा बढी श्रीमती तथा बाहिर केटी राख्ने श्रीमान्बाट वैवाहिक बलात्कार धेरै हुने गरेको देखिएको छ ।
    घरेलु हिंसालाई नियन्त्रण गर्न र दोषीलाई सजाय दिन सन् २००९ मा घरेलु हिंसा र सजायसम्बन्धी ऐन बनेको छ । जसअनुसार वैवाहिक बलात्कारलाई मानवअधिकारको उल्लङ्घन र अपराध ठहर गरी त्यस्तो अपराधको प्रकृति हेरी तीनदेखि ६ महिनासम्मको जेल सजायसमेत हुने प्रावधान छ । यस्तै, उक्त ऐनले पीडित व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, उपचार गर्ने र पुनस्र्थापनासमेत गरिदिनुपर्ने व्यवस्था गरेको छ । तर, धेरैजसो दम्पतीलाई यो कानुनको विषयमा जानकारीसमेत छैन ।
    अधिवक्ता मीरा ढुङ्गाना वैवाहिक बलात्कारसम्बन्धी नेपालको कानुन नै फितलो भएको कारण महिलाले न्याय पाउन नसकेको बताउँछिन् । नेपाली समाजमा विवाहपछि श्रीमान्को घरमा गएर श्रीमती बस्नुपर्ने परम्परा रहेकाले पनि आफूमाथि भइरहेको हिंसामाथि उजुरी गर्न सक्दैनन् । उनी भन्छिन्, ‘तीनदेखि ६ महिना मात्र कारबाही हुने कानुन छ । त्यसपछि फेरि त्यही लोग्नेको घरमा बस्नुपर्ने हुनाले उसबाट हिंसा झन् बढ्ने डरका कारणले पनि नेपाली महिला लोग्नेका विरुद्ध उजुरी गर्दैनन् ।’
    घरेलु हिंसा र सजायसम्बन्धी ऐन बनेलगत्तै ३÷४ वटा उजुरी दर्ता भए पनि हाल आएर पुनः यस्ता उजुरी तथा मुद्दा पर्न छाडेको उनको भनाइ छ । चरम यातना र हिंसाको सिकार नभईकन महिलाले उजुरी गर्न नआउने भएकाले पनि उजुरी घटेको उनको बुझाइ छ ।
    विवाहित महिलामा यौनहिंसा हुन नदिन सबैभन्दा पहिले लोग्नेलाई लैङ्गिक विषयमा शिक्षित बनाउनु जरुरी छ । यसका लागि श्रीमान् र श्रीमतीबीच हुने अन्तरसंवादलाई सुधार्न तथा बढावा दिन जरुरी छ । वैवाहिक बलात्कारबाट पीडित महिलालाई हेरचाह तथा सहयोग गर्नुपर्ने खाँचो छ । त्यसैगरी पीडकलाई कानुनी दायरामा ल्याएर विभिन्न खालका दबाब र सामाजिक सचेतना, अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।  (संचारिका फिचर सेवा)