बढ्दो साइबर अपराध

1033 पटक पढिएको

सम्पादक: Dhadingnews.com

घटना गत जेठ ३१ गतेको हो । साइबर अपराध (ठगी)को अभियोगमा दुई विदेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो । नेपाली फूटबल क्लबमा खेलाडी तथा एजेण्टका रूपमा अनुबन्धित  उनीहरूको पक्राउले सबैलाई आश्चर्यमा पार्‍यो । पक्राउ पर्नेमध्ये एक नाइजेरियाली नागरिक इकेचोकु जोन डाइकले जावलाखेल यूथ क्लबबाट पछिल्लो वर्ष ‘ए’ डिभिजन लीग खेलेका थिए । त्यस्तै, अर्का सेरालियोनका अर्नेष्ट पी कमारा पनि केही समयदेखि नेपाली फूटबल क्षेत्रमा खेलाडीका साथै एजेण्टका रूपमा कार्यरत थिए । ती दुई खेलाडीलाई ठगी कार्यमा सहयोग गरेको अभियोगमा एक नेपाली महिलासमेत पक्राउ परेकी थिइन् । विभिन्न व्यक्तिलाई एसएमएस पठाई ठूलो रकम चिठ्ठामा परेको भन्ने बहानामा रकम असुल्ने गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै, साइबर अपराधअन्तर्गत अर्को घटना साउन २२ गते भएको थियो, जसमा सोर्सकोड चोरी गरी सफ्टवेयर परिमार्जन, परिवर्तन एवम् पाइरेसी गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । घटनामा इन्फो डेभलपर्स प्रालिद्वारा निर्मित एवम् वितरित ‘फिनसिस’ सफ्टवेयरको सोर्सकोड चोरी गरी अनधिकृत रूपमा परिमार्जन एवम् परिवर्तनसहित कोम्यानका नामबाट उक्त समूहले विक्रीवितरण गर्ने गरेको पाइएको थियो । यसरी निर्माण गरिएको सफ्टवेयरको पाइरेटेड भर्जन रू. १५ हजारदेखि २५ हजारसम्ममा बेच्ने गरेको पाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसै वर्ष भएका यी घटना प्रहरीले आफ्नो अनुसन्धानमार्फत अघि बढाएका तथा सञ्चारमाध्यममा चर्चा पाएका केही प्रतिनिधि घटनामात्रै हुन् । हालका दिनहरूमा बढ्दै गरेको साइबर अपराधका अधिकांश घटना जनचेतनाको अभावमा छानबिन तथा अनुसन्धान नहुँदै हराउने गरेको नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले बताए । अपराध गर्नेमा  आफूले गरेको कार्य कानूनी रूपमा दण्डनीय छ भन्ने जानकारी नहुनु र पीडितमा कानूनी सहयोग प्राप्त गर्न सकिनेबारे चेतनाको कमी नै साइबर अपराध बढ्नुको कारण भएको उनी बताउँछन् । ‘यो निकै निराशाजनक अवस्था हो,’ उनले भने, ‘यसको सुधार गरी जनचेतना बढाउन हामी लागिपरेका छौं ।’

इण्टरनेशनल टेलिकम्युनिकेशन युनियनको तथ्याङ्कअनुसार सन् २००५ मा विश्वभरको कुल जनसङ्ख्यामध्ये १५ दशमलव १ प्रतिशतले मात्र इण्टरनेट सेवा प्रयोग गर्दथे । सन् २०१३ सम्म आइपुग्दा प्रयोगकर्ताको सङ्ख्या बढेर ३९ प्रतिशतको आँकडा पार गर्न लागिसकेको छ । सन् २००५ मा मोबाइल प्रयोगकर्ताको सङ्ख्या करीब १५ प्रतिशतमात्र रहेकोमा अहिले त्यो सङ्ख्या ९६ प्रतिशत पुगेको बताइन्छ । यसरी तीव्र गतिले प्रविधिमा आएको विकास, विस्तार एवम् पहुँचसँगै साइबर अपराधका घटनासमेत बढ्दो अवस्थामा रहेको कार्कीको अनुभव छ ।

के हो साइबर अपराध ?
कम्प्युटर, विद्युतीय उपकरण तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्य साइबर अपराध हुन् । इण्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, इण्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षतिलगायत अवैधानिक कार्य यसमा पर्छन् ।

कानूनमा समयसापेक्ष परिमार्जनको आवश्यकता
नेपालमा साइबर अपराध नियन्त्रणका लागि हाल विद्युतीय कारोबार ऐन, २०६३ प्रयोगमा रहेको छ । विद्युतीय साधनको प्रयोग भई हुने कुनै पनि किसिमका आपराधिक कार्य यसमा समेटिन्छन् । मोबाइल, इण्टरनेट, कम्प्युटर फ्याक्स मेशिनलगायतको प्रयोगमार्फत हुने विभिन्न आपराधिक क्रियाकलाप यसका उदाहरण हुन् । सफ्टवेयरलगायतको पाइरेसी पनि यसमा पर्दछन् । हालका दिनहरूमा एसएमएस पठाई प्रलोभनमा फसाउने र विभिन्न किसिमले ठग्ने प्रवृत्तिका बैङ्किङ अपराध बढ्दै गएको देखिन्छ । तर, प्रविधि प्रयोगको सम्बन्धमा बनाइएका कानूनमा आवश्यक परिमार्जन हुन नसक्दा अपराध न्यूनीकरणमा प्रभावकारी रूपमा काम गर्न नसकिएको नेपाल प्रहरी (सीआईबी)का प्रवक्ता पीताम्बर अधिकारी बताउँछन् । ‘हामी हालसम्म उही पुरानो कानूनी प्रावधानअनुसार चलिरहेका छौं,’ उनले भने, ‘हालको कानूनी प्रावधान अहिलेका आपराधिक घटना नियन्त्रणका लागि पर्याप्त छैनन् ।’

सामाजिक सञ्जालसम्बन्धी अपराध बढ्दो
हरेक दिनजसो विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित आपराधिक घटना बढ्दै गएका छन् । २०६९/७० को ‘भ्याली क्राइम डिभिजन’को तथ्याङ्कअनुसार उपत्यकाभित्र जानकारीमा आएका साइबर अपराधका घटनामध्ये सबैभन्दा बढी सामाजिक सञ्जालसँग सम्बन्धित छन् । हालसम्म जानकारीमा आएका ८३ घटनामध्ये ५८ ओटा सामाजिक सञ्जालसँग सम्बन्धित रहेको काठमाडौं भ्याली अपराध चार्टमा देखाइएको छ । त्यसमा पनि अधिकांश घटना क्यारेक्टर एसेसिनेशन (चरित्र हत्या)सम्बन्धी रहेको कार्कीले जानकारी दिए । यस्तै, ईमेल थ्रेट (ईमेलमार्फत दिइने डर तथा धम्की)का घटना आठओटा र एसएमएसमार्फत लोटरीको बहानामा ठगीको घटना ६ ओटा रहेका छन् ।

दर्ता भएको पहिलो घटना
विश्वमा साइबर अपराधको सबैभन्दा पहिलो घटना सन् १९२० मा दर्ता भएको थियो । उक्त घटना फ्रान्सको कपडा उत्पादन कारखानामा भएको थियो । कारखानाका मालिक जोसेफ मेरी जेक्वार्डले कपडा बुन्ने स्वचालित कम्प्युटराइज्ड मेशिन बनाए । यसपश्चात् त्यहाँका कामदारमा कम्प्युटरको कारणले तिनीहरूको रोजगारी गुम्ने भय उत्पन्न भयो । जागीर गुम्ने भयका कारण उनीहरूले त्यस उद्योगको कम्प्युटर संरचना ध्वस्त बनाउने कार्य गरेका थिए, जुन घटनालाई पहिलो साइबर अपराध मानिन्छ ।

आर्थिक अभियान दैनिक अनलाईनबाट