सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित

861 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, माघ २७ – नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

व्यवस्थापिका संसदमा सोमबार बसेको निर्वाचनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

प्रधानमन्त्रीका एक मात्र उम्मेद्वार कोइरालाले ४ सय ५ मत ल्याउनुभयो । उहाँको विपक्षमा एकसय ४८ मत खसेको छ ।

कोइरालालाई दोस्रो ठूलो दल नेकपा एमाले, राप्रपा, माले लगायतका साना दलले समर्थन गरेका छन् । तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी, चौथो ठूलो दल राप्रपा नेपाल, मधेसी दल लगायतका दलले भने विपक्षमा मतदान गरे ।

सादा, स्वच्छ छवी र इमान्दार नेताको रुपमा परिचित कोइराला मुलुकको ३७ औं प्रधानमन्त्री बन्नुभएको हो । यसअघि आइतबार एमालेले समर्थन गरे लगत्तै कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएको थियो । त्यसैले सोमबार संसद बैठकमा जाँदा कोइरालाले अग्रिम शुभकामना र बधाई समेत ग्रहण गर्नुभएको थियो ।

निधारमा रातो टीका लगाएर संसद बैठक जानुभएका कोइराला गम्भीर मुद्रामा देखिनुहुन्थ्यो । निर्वाचित भए लगत्तै उहाँलाई संसद भवनमै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी लगायतका मन्त्रीहरु, बिभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सभासदले बधाई र शुभकामना व्यक्त गरेका छन् ।

झण्डै १ वर्षपछि मुलुकले आज जननिर्वाचित सरकार पाएको छ । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै मुलुकको कार्यभार फेरि जननिर्वाचित सरकारकै काँधमा आएको हो । राजनीतिक दलहरुबीच आपसी सहमति हुन नसकेपछि ०६९ साल चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्व प्रशासक सम्मिलित सरकार गठन भएको थियो । संविधानसभाको चुनाव गराउने मुख्य कार्यभारसहित बनेको सरकारले संविधानसभाको चुनाव गराएको झण्डै तीन महिनापछि दलको नेतृत्वमा सरकार गठन भएको हो ।

उज्यालो अनलाईनबाट