एमाले नेता नेम्वाङ सभामुखमा निर्विरोध (जीवनीसहित)

620 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एमाले नेता नेम्वाङ सभामुखमा निर्विरोध (जीवनीसहित)

संविधानसभाको अध्यक्ष (सभामुख) मा एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्विरोध हुनुभएको छ ।

सभामुखमा कसैको पनि उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवार नेम्वाङ सर्वसम्मत हुनुभएको हो । उहाँको प्रस्तावकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला समर्थक हुनुहुन्थ्यो । काँग्रेस र एमालेबीच गत माघ २६ गते भएको सातबुँदे सहमतिमा नेम्वाङलाई विजयी गराउने सहमति भएको थियो ।

संविधानसभामा रहेका अधिकांश दल नेम्वाङको पक्षमा उभिएका थिए । नेपाली काँग्रेस, राप्रपा नेपाल, राप्रपा सहितका अधिकांश दलहरुले सोमबारै नेम्वाङलाई समर्थन गरेका थिए । आफ्नै उम्मेदवार उठाउने दाउमा रहेको एनेकपा माओवादी पनि अन्तिम समयमा आएर नेम्वाङलाई समर्थन गर्ने निर्णयमा पुगेको थियो । जसले गर्दा नेम्वाङलाई सर्वसम्मत सभामुख बन्ने बाटो खुल्ला भएको हो ।

मंगलबार बिहान बसेको एमाओवादीको पूर्वपदाधिकारी एवं कार्यालयको बैठकले संविधानसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी नदिने र नेम्वाङलाई नै समर्थन जनाउने निर्णय गरेको हो । सभामुखमा नेम्वाङलाई समर्थन जनाएपछि अब एमाओवादीले संविधानसभाको उपाध्यक्ष पाउने लगभग पक्कापक्की जस्तै भएको छ ।

राप्रपाका नेता सूर्यबहादुर थापाले अहिले जेष्ठ सदस्यको रुपमा संविधानसभाको अध्यक्षता गरिरहनुभएको थियो ।

अवसरलाई सदुपयोग गर्न जान्ने नेता

सुवासचन्द्र नेम्बाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानूनमा स्नातक (बीएल) गरेका छन्।

नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। २०५६को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ।

नेकपा एमालेको केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो। कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक हुनुहुन्छ। अध्ययन र समाजसेवामा उहाँको रुचि छ। उहाँका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचनपछि जनतालाई पुर्‍याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ।

संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं २ बाट निर्वाचित नेम्बाङ पार्टी भित्र पनि अवसरलाई सदुपयोग गर्न जान्ने नेताका रुपमा चिनिनुहुन्छ । नेम्बाङ वरिष्ठ नेता माधवकुमार नेपालका निकट मानिनुहुन्छ ।

दैनिक नेपाल बाट