३१ भाषामा कविता वाचन, ६ भाषासेवी सम्मानित

687 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Language

काठमाडौं, फाल्गुन ९ – अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)का अवसरमा ३१ भाषामा कविता पाठ गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०७०’ समारोहमा कविता वाचन गरिएको हो ।

वाचित कविताहरू थारु, नेपालभाषा, दुङमाली, लिम्बु, कुलुङ, नाछिरिङ, ताजपुरिया, चाम्लिङ, बाहिङ, वाम्बुले, बान्तवा, दुमी भाषाका छन् । त्यस्तै, थकाली, उर्दू, उराँव, तामाङ, मगर, मैथिली, घले, याक्खा, केवरत, बज्जिका, अवधी, भोजपुरी, लोहोरुङ, हुम्ली, छन्त्याल, थामी, धिमाल, खालिङ र डोटेली छन् । महोत्सवका सभापति इतिहासविद् माणिकलाल श्रेष्ठले राज्यले सबै भाषालाई समान अवसर दिने नीति बनाउनुपर्ने बताए ।

त्यस्तै, प्रतिष्ठानका निवर्तमान कुलपति बैरागी काइँलाले राज्यले मातृभाषाहरु बचाउन सुविधा दिनुपर्ने तर भाषा बचाउने जिम्मेवारी सम्बन्धित मातृभाषी नै अघि सर्न जरुरी भएको बताए । ‘मातृभाषा देशकै सम्पदा हो, त्यसैले जोगाउनका निम्ति राज्यले सुविधा दिनुपर्छ,’ मातृभाषा आन्दोलन निरन्तर जारी रहेको उल्लेख गर्दै काइँलाले भने, ‘तर मातृभाषा बोल्ने, लेख्ने सम्बन्धित समुदायले हो । त्यो जिम्मेवारी बहन गर्न जरुरी छ ।’

त्यसैगरी प्रतिष्ठानका सदस्य-सचिव सनत रेग्मीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा तेस्रो पटक कविता महोत्सवको आयोजना गरिएको बताए । महोत्सवमा वाचित कवितालाई संग्रहका रुपमा प्रकाशन गरिनेसमेत रेग्मीले जनाए ।

त्यसैगरी अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ६ जना मातृभाषा सेवीलाई ‘राष्ट्र मातृभाषा सेवा पुरस्कार’ प्रदान गरेको छ । पुरस्कृत हुनेमा मगरभाषाका जीत सिन्जाली मगर, चाम्लिङ भाषाका बयानसिं यालुङछा, सुनुवार भाषाका अतीत क्युँइतिचा, लिम्बु भाषाका अमर तुम्याहाङ, धिमाल भाषाका सोम चातेल र बान्तावा भाषाका पदम वालाहाङ छन् । भाषाशास्त्री प्राध्यापक डा. नोवककिशोर राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यस अवसरमा प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगर, सदस्यसचिव पीबी गोलेलगायतले ‘थुँगा’ कविता संग्रह विमाचन गरेका छन् । डा. लालश्याँकारेलु रापचाद्वारा सम्पादित उक्त कृतिमा २९ भाषाका कविता रहेका छन् । जसमा मेचे, बाहिङ, डोल्पो, सुनुवार, मगर, खालिङ, जिरेल, नाछिरिङ, धिमाल, साम्पाङ, अवधी, दुङमाली, राजवंशी, लिम्बु, उराँव, दुमी, ताजपुरिया, वाम्बुले, तामाङ, चाम्लिङ, किसान, बान्तावा, गुरुङ, दनुवार, थामी, कुमाल, कोयू, थारु, मुगाली छन् । त्यस अवसरमा डा. तारालाल श्रेष्ठले ‘आदिवासी इतिहास र सम्मानको संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

इ-कान्तिपुर