एमाले महाधिवेशन जेठ पहिलो साता

501 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : एमालेले पार्टीको नवौं महाधिवेशन आगामी जेठ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ। पार्टी केन्द्रीय समितिको बैठकमा स्थायी समितिले तयार पारेको महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहितको प्रस्ताव आइतबार पेस गरिएको हो।download

प्रस्तावअनुसार मदन-आश्रित स्मृति दिवसका दिन जेठ ३ गते काठमाडौंमा महाधिवेशन उद्घाटन गरिनेछ। जेठ ४ देखि ८ गतेसम्म बन्दसत्र सञ्चालन हुनेछ। महाधिवेशन तयारीका लागि नयाँ सदस्यता वितरण फागुन मसान्तदेखि स्थागित गरिनेछ।

सदस्यता सार्न चाहनेले चैत मसान्तसम्म सारिसक्नुपर्नेछ भने नवीकरण पनि चैत १५ सम्ममा गरिसक्नुपर्नेछ। वैशाख २०-२५ गतेसम्म प्रतिनिधि छनोट गर्ने अवधि तोकिएको छ। वैशाख ३० गतेसम्म सबै प्रतिनिधिको सूची केन्द्रमा पठाइसक्नुपर्ने एमाले स्थायी समितिको प्रस्ताव छ।

महाधिवेशनमा पेस गर्ने दस्तावेज उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा बनेको समितिले चैत १५ गतेसम्ममा तयार पारिसक्नुपर्नेछ। दस्तावेजलाई केन्द्रीय समिति बैठकमा चैत १६ देखि २० गतेसम्म छलफल गरी अन्तिम रूप दिने योजना छ। केन्द्रीय समितिले पास गरेको कार्यनीति वैशाख २५ सम्ममा स्थानीय समितिमा पुर्‍याइसक्नुपर्नेछ। वैशाख महिनाभरि उक्त प्रतिवेदन स्थानीय तहमा छलफल गरी सुझाउ संकलन गरिनेछ।

महाधिवेशन तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनाइएको छ। त्यसअन्तर्गत उपसमितिहरू बनाइएको छ। जनपरिचालन उपसमिति सचिव शंकर पोखरेलको संयोजकत्वमा बनाइएको छ भने सुरक्षा उपसमितिको संयोजक विष्णु पौडेललाई तोकिएको छ।

अतिथि सत्कार उपसमितिको जिम्मा भीम रावललाई र स्रोत व्यवस्थापनको जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएको छ। आवास व्यवस्थापन उपसमितिको जिम्मा गंगालाल तुलाधर र प्रचारप्रसार उपसमितिको संयोजक प्रदीप ज्ञवालीलाई तोकिएको छ।

स्वास्थ्य उपसमितिमा योगेश भट्टराई, सदस्यता प्रमाणीकरण उपसमिति युवराज ज्ञवाली र मञ्च व्यवस्थापनको जिम्मा विष्णु रिमाल नेतृत्वको उपसमितिलाई दिइएको छ।

महाधिवेशनको तिथिबारे सोमबार केन्द्रीय समितिको बैठकले निर्णय गर्ने कार्यक्रम छ।

-अन्नपूर्ण