गणेश हिमाल फेदीको जस्ताखानी अलपत्र

2478 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ– आठ बर्ष अघि देखि वन्द हुन पुगेको गणेश हिमाल फेदीको मेटल कम्पनी पुनःसंचालनमा आउन सकेको छैन । P1010371
गणेश हिमालको फेदी र त्यसआसपासका क्षेत्रमा रहेको जस्ता र सिसा खानी उत्खनन र प्रशोधन गर्ने उद्धेश्यले सरकारी स्वामित्वमा रहेको नेपाल मेटल कम्पनी आठ बर्ष अघि देखि बन्द भएपछि खानी अलपत्र हुन पुगेको हो । सरकारले २०३३ सालवाट स्वामित्वमा लिएको नेपाल मेटल कम्पनीले गणेश हिमाल फेदीमा खानी उत्खननका लागि पूर्वाधार निर्माण र अध्ययनमा १८ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
मुलुकमा सशस्त्र द्धन्द्ध सुरु भएको कारण उत्खनन कार्य अघि बढाउन नसकिने भन्दै आथिर्क वर्ष २०६२÷६३ वाट मा बन्द गरिएको कम्पनी पुनःसंचालन हुन सकेको छैन । कम्पनीमा नेपाल सरकारको ७१ प्रतिशत, खेतान समूहको १३ प्रतिशत र भारतको हैदरावाद इन्डष्ट्रिजको १६ प्रतिशत लगानी रहेको थियो ।
उत्खननका लागि गरिएको परिक्षणमा जस्ता, सिसा र चाँदी रहेका विभिन्न ६ स्थानको पहिचान गरिए पनि कम्पनीले प्रतिफल लिन नसकेपछि तत्काल उत्खननमा गएकाहरु द्धन्द्धको कारण देखाएर वाहिरिएको हुन सक्ने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य ध्रुव थापाले वताउनुभयो । धातु भएका स्थानको पहिचान गरी उत्खननका लागि पूर्वाधारसमेत बनाइसकिएको मेटल कम्पनी संचालनमा आउन सकेमा मुलुकले ठुुलो आर्थिक फडको मार्न सक्ने धादिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका थापा वताउनुहुन्छ ।
गणेश हिमाल आसपासमा करिब तीन लाख टन धाउ रहेको पहिचान भइसकेको र यो धाउबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपालको माग धान्ने अनुमान गरिएको थापाले वताउनुभयो । यहाँ लारी र सुप्ले गरी २ क्षेत्रमा खनिज पाइएको थियो । प्रारम्भिक एक अध्ययनले यस क्षेत्रमा ४ लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी उपलब्ध हुने देखाएको र यसको अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यले ६७ करोड अमेरिकी डलर अर्थात् ४९ अर्ब ५८ करोड नेपाली रुपैयाँ हुन आउने प्रतिवेदन आठ बर्ष अघिनै परियोजनाले सार्वजनिक गरेको थियो । परियोजना सुरुमा सञ्चालन गर्न ‘मिनी पाइलट’ अन्तर्गत साढे नौ करोड बजेट आवश्यक पर्ने परियोजनाले प्रस्ताव राखेको भएपनि मुलुकमा शसस्त्र द्धन्द्ध शुरु भएका कारण सरकार र निजीक्षेत्र लगानी गर्न पछि हट्दा मेटल उत्खनन कार्य अलपत्र पर्न पुगेको थियो । मेटल कम्पनीले उत्खनन वन्द गरेपछि यहांवाट गैर कानूनी उत्खनन बढ्नुका साथै अवैध ढंगवाट कारोवार गर्नेहरुको चलखेल बढ्दै गएकाले सरकारले खानी उत्खननका बिषयमा स्पष्ट निति बनाएर तत्काल संचालनमा ल्याउनु पर्ने थापाको सुझाव छ । खानी ४० वर्ष भन्दा बढी समयसम्म चल्न सक्ने र सो रकमले ५० टन क्षमताको प्लान्ट सञ्चालन गर्न सकिने प्रतिवेदन सार्वजनिक भएपनि राज्यले चासो नदेखाएको निजि क्षेत्रका अगुवाहरुको गुनासो छ ।
अध्ययनका क्रममा एक टन धाउ प्रशोधन गर्दा करिब एक किलो चाँदीसमेत आउने तत्काल अगुगमनमा खटिएका प्राविधिकहरुको प्रतिवेदन उल्लेख गरिएको पनि थापाले बताउनुभयो । धादिङको तिप्लिङ गाविसमा रहेको प्रशोधन उद्योगसम्म पुग्न रसुवाको सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसी हुँदै सोमदाङसम्म मोटरबाटो निर्माण भइसकेको छ ।
जिल्लाभित्र यति ठुलो उद्योग संचालनको सम्भावना रहेको भएपनि भौगोलिक विकटताका कारण सदरमुकामसंग खानीस्थलको सिधा सम्पर्क हुन नसकेको र सो खानी उत्खननका बिषयमा हेर्ने जिल्लामा कुनै निकाय समेत नरहेको धादिङका स्थानीय विकास अधिकारी रमेश न्यौपाने वताउनुहुन्छ । कम्पनी खानी विभाग मार्फत संचालन भएको र जिल्ला सदरमुकाममा कुनै पनि इकाई समेत नरहेको न्यौपानेले बताउनुभयो । गणेशहिमाल क्षेत्रमा जस्ता तथा मेटल खानी रहेको अनुमान पछि उत्खननका लागि परियोजनाको रुपमा २०२४ मा विडला कम्पनी हैदरबादले खोज अन्वेषण शुरु गरेको थियो । सरकारले त्यतिबेला खानीस्थल सम्म भौतिक सुविधा बाटो र बिजुली पु¥याउन नसकेपछि विडलाले उत्खनन परियोजना सञ्चालन नगरेपछि ०३३ मा कम्पनी नेपाल सरकारले लिएको थियो ।