२०७१ सालमा ९६ दिन सार्वजनिक बिदा

530 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, – २०७१ सालमा शनिबारसहित ९६ दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले आगामी १ वैशाखदेखि चैत मसान्तसम्मका लागि ९६ दिन सार्वजनिक बिदा निर्धारण गरेको हो । आगामी वर्ष २ सय ६९ दिन मात्र कार्यालय सञ्चालन हुने भएको छ ।
गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सर्वसाधारणका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । जसअनुसार वैशाख, असार, भदौ, असोज, मंसिर, पुस, माघ र चैतमा चार–चार र जेठ, साउन, कात्तिक र फागुनमा पाँच–पाँच ओटा शनिबार परेको छ ।
पर्व बिदाहरूका रूपमा १ वैशाखमा नयाँ वर्ष, ३१ वैशाखमा वैशाख र्पूिर्णमा र बुद्ध जयन्ती, २५ साउनमा जनै पूर्णिमा, १७ भदौमा गौरा पर्व, इस्लाम धर्मावलम्बीहरूको पर्व इद, १२ कात्तिकमा छठ, बकर इद, २० मंसिरमा किरात जातिको उभौली पर्व र धान्यपूर्णिमा, इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, १५ पुसमा तमु लोसार, १ माघमा माघी पर्व, ७ माघमा सोनाम लोसार, ५ फागुनमा महाशिवरात्री पर्व, हिमाली शेर्पा जातिहरूले मनाउने पर्व घ्याल्वो लोसार, २१ फागुनमा फागुपूर्णिमा तथा २४ फागुनमा अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा बिदा दिइएको छ । यसैगरी, सिरुवा पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरूमा पनि पर्व बिदा दिने निर्णय भएको छ । धवथाम्बु छेउचिक पर्वका दिन पनि स्थानीय स्तरमा बिदा दिइने भएको छ ।
यसैगरी, महिला कर्मचारीहरूका लागि १२ भदौमा हरितालिका तीज, १४ भदौमा ऋषिपञ्चमी र ३१ भदौमा जितिया पर्व बिदा दिइएको छ ।
वसन्त पञ्चमीका अवसरमा ११ माघमा शैक्षिक संस्थाहरूलाई मात्र बिदा दिइएको छ । गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको जात्रा र घोडेजात्रामा पनि बिदा दिइएको छ । आगामी वर्ष २६ साउनमा गाईजात्रा, २३ भदौमा इन्द्रजात्रा र ६ चैतमा घोडेजात्रा परेको छ ।
यसैगरी, ९ असोजमा घटस्थापना, १५ देखि १९ असोजसम्म बडा दसैं र २१ असोजमा कोजाग्रत पूर्णिमालाई दसैं बिदा तोकिएको छ । ६ कात्तिकमा लक्ष्मीपूजा, ७ कात्तिकमा गोवद्र्धन पूजा र ८ कात्तिकलाई भाइटीका बिदा तोकिएको छ ।
११ वैशाखमा लोकतन्त्र दिवस, १८ वैशाखमा मजदुर दिवस, १५ जेठमा गणतन्त्र दिवस, २२ भदौमा निजामती दिवस
(विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत रहेका निजामती कर्मचारी, अदालत तथा संवैधानिक निकायका कर्मचारीलाई मात्र), १७ मंसिरमा अन्तर्राष्ट्रिय अपांग दिवस
(अपांगहरूका लागि मात्र), १६ माघमा सहिद दिवस, ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र दिवस परेको छ । यी दिनमा सार्वजनिक बिदा दिइने भएको छ ।
यसैगरी, ३१ वैशाखमा बुद्धजयन्ती, १ भदौमा श्रीकृष्ण जन्माष्टमी, २० कात्तिकमा गुरुनानक जयन्ती (नेपाली शिखहरूका लागि मात्र) १४ चैतमा रामनवमी, १९ चैतमा महावीर जयन्ती (जैन धर्मावलम्बीहरूका लागि मात्र) बिदा निर्धारण भएको छ ।
यसैगरी, विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूलाई समेत ध्यानमा राखेर बढीमा १८ दिनसम्मको बिदा आफैंले मिलाउन सकिने व्यवस्था गरेका पनि मन्त्रालयले जनाएको छ ।
अस्पताल, रोपवे, टेलिफोन, अध्यागमन, थाना, चौकी, फायर ब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, नेपाल सरकार मुद्रण विभाग, हुलाक, आकाशवाणी आदिजस्ता रोजना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाको दिन काम गरेबापत कानुनी प्रक्रिया पु¥याएर सट्टा बिदा बस्न पाइने पनि मन्त्रालयले जनाएको छ ।
यसैगरी, सबै सरकारी कार्यालयहरूमा शुक्रबारबाहेक १६ माघदेखि १५ कात्तिकसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ भने १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ । शुक्रबारको दिन भने बिहान १० बजेदेखि बेलुकी ३ बजेसम्म कार्यालय समय निर्धारण गरिएको गृहसचिव जनार्दन नेपालले जनाएका छन् ।

-राजधानी