जिल्लाकै नमुना पर्यटकिय गन्तब्य, पात्लेको होमस्टे

1130 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पात्ले – धादिङ जिल्लाको खाल्टे गाउँ विकास समिति वडा नं. १ मा रहेको पात्ले गाउँ स्थानिय व्यक्तिहरुकै पहलमा जिल्लाकै नमुना पर्यटकिय गन्तव्य वन्न पुगेको छ । SAM_0747
सदरमुकाम धादिङवेसी देखि करिब ९ किलोमिटर पुर्वतर्फको दुरीमा रहेको पात्ले गाउंमा ८५ घर गुरुङ परिवार र ५ परिवार गिरी समुदायको बसोबास रहेको छ । गाउंलाई नमुना पर्यटकिय गन्तव्य वनाउने लक्ष्यका साथ २०६५ सालमा ५ वर्षे आवधिक योजना बनाएर पात्ले गाउँलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय गुरुङ समुदाय जुटेका थिए । त्यस पछि होमस्टेका लागि २ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु गाउँमा आइसकेको पात्ले होमस्टे संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर गुरुङले बताउनुभयो ।
नुसार गाउंलाई नमुना पर्यटकीय गन्तव्य वनाउन गाउँ प्रवेश द्धारमा स्वागत गेट निर्माण, बाटोघाटो र घरवस्ती सरसफाई, सांस्कृतिक समूहको तयारी, आन्तरिक पद प्रदर्शकको व्यवस्था लगायतका कामहरु गरिएका छन । गुरुङ गाउँमा जाने पर्यटकलाई घरायसीपाहुना सरह स्वागत, सत्कार गर्ने र गुरुङ जातीहरुको संस्कृति झल्कने कार्यक्रमहरुमा सरिक गराउने समेत गरिएको छ । होमस्टेका लागि जाने पाहुनाहरुलाई वास वसाउनका लागि अहिले गाउंका ६ वटा घरमा आधारभुत पुर्वाधार तयार पारिएको छ । यसठाउंमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पाउने आतिथ्यका कारण खाल्टेको गुरुङ गाउं जिल्लाकै नमुना पर्यटकिय गाउं वन्न पुगेको हो । होम–स्टेमा आउने पर्यटकहरुले नेपाली संस्कृती बारेमा जान्न र स्थानीय संस्कृतीमा रमाउन चाहने भएकाले स्थानीय गुरुङ समुदायले संस्कृती झल्काउने कौरा नाच,दोहोरी,कृष्ण लिला लगायतका सांस्कृतिक प्रदर्शनी समेत गराउने गरेका छन ।
धादिङ जिल्लाकै चर्चित चमेरे गुफा, टोडके चुली,चमरे ओढार,नारानडाँडा,रघुनाथचुली,बौद्ध गुम्वा,शंखादेवी मन्दिरका साथै लामागुरु जस्ता धार्मिक स्थलहरुको बिचमा रहेका कारण पात्लेको होम स्टे थप आकर्षणको केन्द्र बन्न पुगेको हो । दक्षिण एसियामानै निकै चर्चामा रहेको चमेरे गुफा भित्र मादल र बाजाको जस्तो धुन दिने ढुंगाहरु र शिवपार्वतीको मूर्तिमा गाईले दुध चढाइरहेको जस्तो दृश्यहरु देख्न सकिने गुफा प्रवेश गरेर फर्किएकाहरु बताउंछन । भित्रि भाग फराकिलो र छाना छाएको जस्तो देखिने चमेरे गुफा भित्रको प्रायः सबै ढुंगाहरुले देवताको स्वरुप लिएको भान हुने गरेको गुफामा प्रवेश गर्नेहरुको भनाई छ ।
पात्ले गाउँदेखि एक घण्टाको दुरीमा रहेको विशाल चिप्लेटी ढुंगाको ओडारमा पवित्र धार्मिक स्थल लामागुरु रहेको छ । ओडार भित्र लामागुरु (पद्ममशम्भो) को शिलाचित्र र सो चित्रको नजिकै तिवेतियन अक्षरमा मन्त्रहरु लेखिएको अहिले पनि देख्न सकिन्छ ।लामागुरु संगै नेपालका आकर्षक हिमशृङ्खलाहरु देख्न सकिने टोड्के चुलीकोडाँडा पात्ले होम स्टेको अर्को आकर्षणको केन्द्र भएको पात्ले गाउंको विकासमा समर्पित रहंदै आउनु भएका अभियन्ता शेरवहादुर गुरुङ बताउनुहुन्छ । टोड्केचुलीको डांडावाट गणेश, पाविल्,मनासलु, लाङ्टाङ्, माछापुच्छ्रे, निलगिरी, धौलागिरी, अन्नपूर्ण लगायतका हिमालहरु प्रस्टै देख्न सकिन्छ । मनोरम हिमश्रृङखला देख्न पाईने भएकाले यहाँ पुग्ने पर्यटकहरु निकै खुसी हुने गरेको स्थानीयवासीले वताए ।
पर्यटकिय पुर्वाधारहरुको निर्माण हुंदै गएको पात्लेमा धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रहरुका साथै चमेरे ओडार, नारनडाँडा, रघुनाथ चुली लगायतका क्षेत्र पनि पर्यटकहरुका लागि थप आकर्षणको गन्तव्य हुने गरेको छ ।
स्थानिय व्यक्तिहरुकै समझदारीमा पात्ले गाउँलाई रासायनिक मल र विषादी निषेधित गाउँ घोषणा गरिएको छ । अर्गानिक कृषि उत्पादनमा बढ्वा दिने लक्ष्यका साथ एक दशक अघि देखि गाउंमा रासायनिक बिषादीको प्रयोगलाई निरुत्साहित गराईएको छ भने गाउँमा प्लाष्टिकका झोला निषेध गरिएको वताईएको छ ।
गाउँमा सहज रुपमा खानेपानीको व्यवस्था, बाटोघाटोको मर्मत सुधार र गुरुङ जतीहरुको संग्राहालय निर्माण गर्न आवश्यक भएपनि आर्थिक अभावका कारण सबै योजना अनुसार काम हुन नसकेको समितिका सदस्यहरु बताउंछन । जिल्लाको दिगो आर्थिक विकास र अर्थतन्त्रको सुधारका लागि थोरै भएपनि योगदान दिईरहेको पात्लेको पर्यटकीय केन्द्रलाई संरक्षण र प्रचार प्रसार गर्न सकेमा पात्ले गाउँमा अपेक्षाकृत रुपमा पर्यटक भित्र्याउन सकिने पर्यटन प्रवद्र्धन समितिको लक्ष्य रहेको छ ।

 फोटो फिचर :

SAM_0887 DSC03988 DSC03992 DSC03998 SAM_0799 SAM_0812 SAM_0866तस्बिरहरु: केशव अधिकारी /धादिङन्युज