रोजगारीका लागि विदेशिनेको संख्यामा नौ प्रतिशतले वृद्धि

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com


देशमा बढ्दै गएको महँगी र रोजगारको अभावले कामको खोजीमा विदेशिनेको संख्या प्रत्येक वर्ष बढ्दै गएकोे पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा रोजगारको खोजीमा विदेश जानेको संख्यामा नौ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको माघ मसान्तसम्ममा दुई लाख ३६ हजार छ सय ९७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । तर यो संख्यामा नौ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएर यस चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा दुई लाख ५८ हजार ८० जना ले विभागबाट विदेशिनको लागी अन्तिम श्रम स्वीकृति लिइसकेका छन् । यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष थप २१ हजार तीन सय ८३ जना रोजगारको लागी विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले भने, ‘स्वदेशमा रोजगारीको अवसर प्राप्त नहुँदा विदेश जानको लागी हामीकहाँ श्रम स्वीकृति लिन आउनेको सख्ंया प्रत्येक वर्ष बढेको बढ्यै छ कहिलेपनि घटेको पाएका छैनौँ ।’ उहाका अनुसार वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिन आउनेको संख्यामा दिन प्रतिदिन वृद्धि भएको छ । विभागका अनुसार यस चालू आर्थिक वर्षमा रोजगारका लागि नेपालीको प्रमुख गन्तव्य मलेसिया बनेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नै १२ हजार पाँच सय ५७ जना नेपालीले मलेसियाको लागि श्रम स्वीकृति लिएका छन् । जसमध्ये १२ हजार एक सय पाँच जना पुरुष रहेका छन् भने चार सय ५२ जना महिला रहेका छन् । त्यसैगरी, नेपालीहरुको लागी रोजगारीकोे दोस्रो गन्तव्यमा कतार देखिएको छ । कतारको लागि चालू आर्थिक वर्षमा एक हजार ९४ जना पुरुष र एक सय ८५ महिलाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सात हजार छ सय ७० जनाले साउदी अरबका लागि श्रम स्वीकृति गराएका छन् । जसमध्ये सात हजार छ सय सात पुरुष रहेका छन् भने ६३ जना महिला रहेको विभागले उपलब्ध गराएको तथ्यांकमा देख्न सकिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांकका अनुसार रोजगारका लागि पुरुषहरुको प्रमुख गन्तव्य मलेसिया बनेको छ भने महिलाहरुको लागि कुवेत । कुवेतमा यस वर्षमात्रै एक हजार सात सय ५४ जनाले श्रम स्वीकृति गराएका छन् । जसमध्ये आठ सय ६२ जना महिला छन् भने आठ सय ९२ जना पुरुषहरु रहेका छन् ।  हाल कतार, मलेसिया , साउदी अरब, युएई, कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेबनान, इजरायल, अफगानस्तिन, जापान जस्ता मुलुकहरु नेपालीहरुको प्रमुख गन्तव्य बनेका छन् । जसमध्ये मलेसियाको लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् भने अफगानिस्तानका लागि सबैभन्दा कम कामदारले श्रम स्वीकृति गराएकोे वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०५८ ÷०५९ देखि रोजगारको लागी विदेशीनेको संख्यामा ह्वात्तै वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष ०५७÷०५८ मा विदेशिनेको सख्ंया ५० हजार पाँच सयका हाराहारीमा रहेको थियो । तर आर्थिक वर्ष ०५८ ÷०५९ मा झण्डै दोब्बरले बढेर यो सख्या एक लाखभन्दा माथि पुगेको देखिन्छ ।

त्यसयता आर्थिक वर्ष ०६४ ÷०६५ मा एक लाख ४९ हजार ५१ जना विदेशिएका थिए । तर आर्थिक वर्ष ०६५÷०६६ मा यो सख्ंया केही घटेर दुई लाख १९ हजार नौ सय ६५ मा सीमित भएको थियो । विभागका अनुसार आर्थिक वर्ष ०६५÷०६६ पछिका कुनै पनि आर्थिक वर्षमा विदेशिनेको संख्यामा कमी आएको छैन । आर्थिक वर्ष ०६६÷०६७ मा दुई लाख ९४ हजारले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । तर त्यसको दुई वर्षमै आर्थिक वर्ष ०६८÷०६९ मा झण्डै ९० हजार थप नेपाली रोजगारको लागी विदेश प्रस्थान गरेको वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । विदेशिनेको संख्या बढेसँगै यससँग सम्बन्धित ठगीको उजुरीहरु पनि विभागमा आाउने क्रम ह्वात्तै बढेको छ । विभागमा माघ मसान्तसम्ममा एक हजार तीन सय ६२ वटा उजुरीहरु परिसकेका छन् । जसमध्ये पाँच सय ८० वटा व्यक्तिगत उजुरी र सात सय ८२ वटा सस्थागत उजुरी रहेको वैदेशिक रोजगार विभागको उजुरी शाखाका निर्देशक नारायण रिमालले जानकारी गराएका छन् ।

आर्थिक दैनिकवाट