अब ७० प्रकारका औषधि सित्तै

507 पटक पढिएको

सम्पादक: Dhadingnews.com

medicine

काठमाडौ, – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सरकारद्वारा निःशुल्क वितरण हुँदै आएको औषधिको संख्या ७० पुर्‍याउने घोषणा गरेका छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा सोमबार उनले सरकारले थप ३० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने जानकारी गराएका हुन् ।

हाल सरकारले स्वास्थ्य निकायबाट अधिकतम ४० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । उपस्वास्थ्य चौकीमा २५, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा ३५ र जिल्ला अस्पतालमा ४० प्रकारको औषधि ५ वर्षदेखि निःशुल्क छ । यसबापत बर्सेनि करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ ।

सरकारले क्षयरोग, कुष्ठ, एचआईभी/एड्सको औषधिसमेत निःशुल्क वितरण गर्दै आएको छ । यी औषधिसमेत जोड्दा अब १ सय ३४ प्रकारको औषधि निःशुल्क उपलब्ध हुनेछ । यसबारे नीतिगत रूपमा निर्णय हुनमात्र बाँकी रहेको उनले जनाए । समयमै औषधि सर्वसुलभ गराउन विशेष रणनीति अपनाइने उनले बताए ।

औषधि र औजारको खरिद प्रक्रियालाई विगतभन्दा पारदर्शी बनाउनुका साथै आवश्यक औषधि र उपकरणमात्र खरिद गरिने उनले बताए । औषधिको गुणस्तर र निजी अस्पतालको सेवा प्रवाह अनुगमनको प्रबन्धलाई विशेष रूपमा अगाडि बढाइने उनले जनाए ।

‘हालको अनुमानअनुसार निःशुल्क औषधिको संख्या ७० पुर्‍याउँदा करिब डेढ गुणा खर्च बढ्छ,’ पुनः जागरण महाशाखाका डा. बालकृष्ण सुवेदीले भने, ‘केही खास रणनीति अपनाए निःशुल्क औषधिको संख्या बढाउन सकिन्छ ।’

स्वास्थ्यमन्त्रीले स्वास्थ्य संस्थामा तोकिएको सेवा समयलाई अनिवार्य रूपमा कार्यान्वयन गरिने जनाए । ज्येष्ठ नागरिक, महिला, अपांगता भएको व्यक्ति, सीमान्तकृत जनसमुदायलाई उपचारमा विशेष सहुलियतको प्रबन्ध गर्ने योजना बनाइने पनि उनले जनाए । देशका विभिन्न ठाउँमा आवश्यक सामग्रीसहितको घुम्ती अस्पतालहरूको सुरुवात गरिने पनि उनले सुनाए इ कान्तिपुर डट कमलेखबर लेखेको छ ।