बढी भार बोक्ने ट्रिपरबाट एक महिनामै २१ लाख राजस्व

494 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गजुरी (धादिङ) । पृथ्वीराजमार्गमा क्षमताभन्दा बढी भार बोकेर सडक भत्काउँदै गुड्ने टि्रपरलाई कारबाही गरेर ट्राफिक प्रहरीले करिब एक महिनाको अवधिमा २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
tripperगत चैत ४ गतेदेखि सुरु भएको कारबाही अभियान महिनाको अन्त्यमा आइपुग्दा ट्राफिक प्रहरीले ठूलो मात्रामा राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था विभागको निर्देशनमा सुरु गरेको कारबाही अभियानमा दुई हजार १०० टि्रपरबाट रु २१ लाख राजस्व सङ्कलन गरेको प्रहरी सहायक निरीक्षक जयराम पुडासैनीले जानकारी दिनुभयो ।
छ चक्का भएका मालवाहक सवारीको भारवहन क्षमता १० टन भनेर तोकिएपनि बालुवा, गिट्टी बोक्ने टि्रपरले क्षमताभन्दा झन्डै दोब्बर बोकेर निर्वाध सडकमा गुड्ने गरेको छ भने टि्रपरको ढाला ३२ इन्च लेखिएपनि ४२ इन्चसम्म ढाला बनाएर बढी भार बोक्दै आएकाले कारबाही अभियान थालिएको हो ।
बढी भारका कारण सडक ध्वस्त भएको चौतर्फी आलोचना हुन थालेपछि सरकार र व्यवसायीबीच भएको सहमतिमा नियमन गर्ने निर्णय भएको थियो । सोबमोजिम यही चैत मसान्तभित्र बालुवा, ढुङ्गा बोक्ने टि्रपरको ढाला ३२ इन्च बनाउने निर्णय भएको थियो । सोही बमोजिम ढाला काटेर आउन दिएको समय सीमाभित्र बढी भार बोक्नेसँग प्रतिटिप रु एक हजार जरिवाना लिने गरिएको पुडासैनीले बताए ।
तोकिएको समयसीमा सकिनै लाग्दा पनि अझै २५ प्रतिशतले अटेरी गरी ढाला काटेका छैनन् । बालुवा बोक्ने प्रयोजनका लागि टि्रपरको ढाला ३२ इन्च बनाउँदा सात घनमिटर अर्थात् १० टन बालुवा बोक्छ । ढाला नकाट्ने र पट्टा राखेर ल्याउनेले चैत महिनाभर खुसीसाथ जरिवाना काटेर जाने गरेको प्रहरी जवान अर्जुन न्यौपाने बताउँछन् । एक हजार तिर्दा चार हजार नाफा हुने भएकाले खुसी भएर दिने गरेको ट्राफिक प्रहरीको अनुभव छ ।
कारबाही सुरु भएयता दैनिक ८० देखि सयवटा टि्रपरले जरिवाना तिर्ने गरेका छन् । २४ दिनको बीचमा ट्राफिक प्रहरी पोस्ट खानीखोलाले एक हजार ९सय ८९ वटा टि्रपरबाट १९ लाख ८९ हजार रुपैयाँ र बाँकी जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले गरी २१ लाख रुपैयाँ सङ्कलन गरेको हो । रासस