एकीकृत माओवादी अवरोधका कारण संसद बैठक बिहीवारसम्मका लागि स्थगित

615 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं ( धादिङ न्युज) –एकीकृत नेकपा माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपितविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक बिहीवार सम्मका लागि स्थगित गरिएको छ । मुद्दा तत्काल फिर्ता लिन माग गर्दै एकीकृत माओवादीका सभासद्हरूले बैठकमा विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले बैठक बिहीवारसम्मका लागि स्थगित गर्नुभएको हो । बुधवारनै दोस्रो पटक बसेको बैठकमा पनि एकीकृत माओवादी सभासद्हरूले अवरोध गरेपछि बैठक प्रभावित भएको हो । यसअघि पहिलो पटक बैठक सुरु हुने बित्तिकै एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा ब्यूँताएर शान्ति प्रक्रिया बिथोल्ने सरकारले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले चैत ३० गते प्रधानमन्त्री निवासमा भएको मुख्य तीन दलको बैठकमा सत्या निरुपण आयोग नबनेसम्म सशस्त्र द्वन्द्वसँग सम्बन्धित मुद्दा नचलाउने सहमति भएको खुलासा गर्नुभयो । उहाँले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना कार्यकर्तामाथि मुद्दा चलाउने काम भएको पनि आरोप लगाउनुभयो ।
यसअघि आजै बिहान बसेको एकीकृत माओवादी संसदीय दलको बैठकले फुजेल प्रकरणका विषयको मुद्दा फिर्ता नलिएसम्म सदन चल्न नदिने निर्णय गरेको थियो । गोरखा फुजेलका अधिकारी हत्यालाई सत्य निरुपण तथा मेलमिलाप आयोगभन्दा बाहिर राखेर सहमति विपरित गएको भन्दै एकीकृत माओवादीले आन्दोलनको घोषणा समेत गरेको छ । आजको संसद बैठक अवरुद्ध भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक दर्ता हुन पाएन । बुधवारको बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री नरहरी आचार्यले आयोग गठनसम्बन्धी विधेयक दर्ता गर्ने कार्यक्रम तय भएको थियो । प्रहरीले अधिकारी हत्यामा संलग्न रहेको भन्दै एकीकृत माओवादी १३ कार्यकर्ता विरुद्ध मुद्दा चलाएको छ । मंगलवारबाटै चितवन जिल्ला अदालतमा उनीहरुको बयानसमेत सुरु भएको छ ।