एक लोटा पानी पनि पैंचो !

959 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
ब्रुसवाङ(धादिङ) ११ वैशाख – घरमा पानी सकिँदा एक लोटा पानी पनि छिमेकीबाट पैंचो मागेर चलाउनु पर्छ भन्ने सुन्दा अनौठो लाग्न पनि सक्छ ।

DSC09553खानेपानीको निकै दुःख रहेको धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङमा आफ्नो घरमा पानी सकिए छिमेकबाट पैंचो लिएरै चलाउनु पर्ने अवस्था छ ।

भनेको बेला पैंचौ तिर्न नसके अर्को पटक छिमेकीले एक लोटा पानी पनि पत्याउँदैनन् ।

समुद्री सतहबाट १८ सय ७३ मिटरको उचाइमा रहेको ब्रुसबाङमा गाउँ नजिकै पानीको श्रोत नभएकाले यहाँका बासिन्दाले पानीका लागि सधैँभरी सास्ती खेप्नु परेको हो । गाउँदेखि ३ घण्टा तल रहेको बाङकुर्तीको भीरमा पुगेर पानी बोक्नुपर्ने भएकाले यहाँका बासिन्दाले चाहेजसरी पानी पनि पिउन नपाएका हुन् ।

घरमा कोही बिरामी परेर पानी लिन जान नसके, रातको बेला पाहुना आएर पानी खर्च गर्नुपर्ने भए छिमेकीसँग पानी पैंचो मागेर चलाउनुपर्छ । पहिलो पटक पैंचो मागेको पानी फिर्ता नगरेसम्म अर्को पटक पैंचो लिन नपाइने स्थानीय अमरसिंह चेपाङले बताउनुभयो । यहाँ २७ घर परिवार चेपाङको बसोबास छ ।

पानी मात्रै नभइ अरु खानेकुराको पनि उत्तिकै दुःख छ ब्रुसबाङमा ।

गाउँलेले भोग्नु परेको खानेपानीको समस्या समाधान गर्न जिल्ला विकास समिति धादिङ, महादेवस्थान गाविस र शान्ति नेपालको संयुक्त प्रयासमा प्रत्येक घरमा एकएकवटा दुई हजार लिटरको प्लाष्टिक ट्यांकी वितरण गरिएको भए पनि अघिल्लो वर्षको वर्षामा सङकलन गरिएको पानी अहिले सकिइसकेको उनीहरुले बताए ।