पत्रकारलाई पत्याउने कि नपत्याउने ?
647 पटक पढिएको
उपत्यका बन्दको दिन स्कूल पढाउने मेरो साथीलाई मैले आज त उपत्यका बन्द छ, स्कूल बिदा होला नि भनेर खबर गरें । मेरो कुरा सुन्ने बित्तिकै उसले हतपत सोध्यो, पत्रिकामा छापिएको छ र ? अनि रेडियो र टेलिभिजनले नि बन्दको खबर बजाए ?
त्यही दिन आफूलाई सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचारको स्रोत भनेर दावी गर्ने र काम जस्तो भएपनि त्यही अनुसार नाम जुराउने एक टेलिभिजन च्यानलले प्रदर्शनकारी र सरकारबीच सहमति भयो भनेर बे्रकिङ न्युज प्रसारण गर्यो । तर त्यो टेलिभिजनले भनेजस्तो त्यस दिन सहमति भएको थिएन । घर फर्कंदा त्यही साथीले मलाई भन्यो ः सहमति नै नभएको कुरा टेलिभिजनले किन भनेको होला ? संचारमाध्यमको पनि विश्वास गर्न गाह्रो भयो ।
यी दुईवटा उदाहरणबाट नै थाहा हुन्छ, संचारमाध्यमले भनेपछि मात्रै पत्याउने र त्यही अनुसार आफ्नो दैनिकी शुरु गर्ने मानिसलाई नै संचारमाध्यमको बिश्वास गर्न गाह्रो हुन थालेको छ । एबीसी नै नाम राखेर खबर प्रसारण गर्नेले ए को पनि ख्याल गरेको देखिंदैन, बी र सी को त कुरै छाडौं । अहिले अरुभन्दा छिटो हुने होडमा धेरै संचारमाध्यमहरु एबीसीको ख्याल नै नगरी खवर प्रसारण गर्ने प्रतिष्पर्धामा लागेका छन् । दायाँ बायाँ नहेरी अरुलाई उछिन्ने होडमा दौडदा लडिन्छ भन्ने थाहा हुँदाहुँदै पनि सञ्चार माध्यमहरु जथाभावी दौडिरहेका छन् र पटकपटक लड्दा पनि उनीहरुलाई यसको आभाष नभएको जस्तो देखिन्छ ।
यतिबेला संचारमाध्यम खोल्नु फेशन जस्तै भएको छ । समाजमा आफ्नो प्रतिष्ठा बढाउन तथा आफ्नो राजनीतिक धार स्थापित गर्नलाई समेत केही व्यक्ति, समूह तथा राजनीतिक दल संचारमाध्यम खोल्ने अभियानमा लागेका छन् । फलानो राजनीतिक दलको भनेर प्रष्टै चिनिएका संचार माध्यमबाट सन्तुलित खबर या विचार प्रसारण हुन्छन् भनेर कल्पना पनि गर्न सकिन्न । आफूलाई सन्तुलित रुपमा राख्न चाहने संचारमाध्यमले पनि आवश्यकता अनुसार एबीसीको मात्रा पु¥याउन नसकेको स्थिति छ ।
गाउँघर या शहरबजार अझैपनि धेरैतिर रेडियो, टेलिभिजन या अखबारको खबर अनुसार आफ्नो दैनिकी शूरु गर्ने मानिसको संख्या धेरै छ ।
‘रेडियोले भनेको आज बेलुका त पानी पर्छ रे, ल घामधन्दा बेलैमा सक्नुपर्यो ।
हिजो टेलिभिजनले देखाको थियो नि फलानो ठाउँमा त एउटै केराको घरीमा ५ सय वटा केरा फल्यो रे । ओहो कत्रो घरी, भूईं छुन लागेर खाल्डो नै खन्न पर्यो रे ।
तंैले आजको पत्रिका पढिनस्, फलानो ठाउँमा त बबाल नै भएछ नि ।
यसरी संचारमाध्यमको खबर अनुसार आफ्नो दैनिकी शुरु गर्ने, यसबारे बहस र छलफल गर्ने राम्रो उदाहरण पनि भेटिन्छ । यति मात्रै होइन स्कूल पढ्ने विद्यार्थीले रेडियो या टेलिभिजन सुनेर त्यसमा सुनिने भाषा र शैलीको नक्कल गर्ने गर्छन् । रेडियो र टेलिभिजनले नै भन्ने भाषा र शैली नै शुद्ध हुन्छ भन्ने विश्वास गर्ने प्रचलन छ । तर हिजोआज रेडियो र टेलिभिजनले नेपाली भाषा र शैलीलाई बिगारे भन्ने जनगुनासो बढ्न थालेको छ । संगै संचारमाध्यमले हावादारी खवर प्रसारण गरे भनेर धारे हात लगाउनेहरुको जमात पनि ठूलो छ । संचारमाध्यमको संख्या त बढेको छ, तर तिनलाई अनुगमन गर्ने सरकारी निकायको ध्यान चाहिं खुम्चेको खुम्च्यै छ । अनि आफैंले आफुलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि अस्वस्थ प्रतिष्पर्धाका कारण केही संचार माध्यमले एबीसी नै भुलेका छन्, केहीले प्रयास गर्न खोज्दा पनि बेलाबेला एबीसीको मात्रा पु¥याउन सकेका छैनन् । केही संचारमाध्यमको कारण सबै संचारमाध्यमको नै बदनाम हुन थालेको छ ।
संचारमाध्यम, सरकार र सम्बन्धित निकायले बेलैमा ध्यान नदिए जनतामा संचारमाध्यमप्रति रहेको धेरथोर विश्वास पनि घट्नेछ । सत्यतथ्य, सन्तुलित र विश्वसनिय खबर तथा विचार प्रसारण गर्ने आफ्नो धर्म संचारमाध्यमले नबिर्सने हो भने संचारमाध्यमप्रति जनताको विश्वास र भरोसा सधैं गाढा बन्नेछ ।