होमस्टे व्यवस्थापन सिक्दै पात्लेका गुरुङहरु

1058 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पात्ले-धादिङ जिल्लाको खाल्टे गाविसमा रहेको पात्ले गुरुङ होमस्टे व्यस्थापनका लागि होमस्टे संचालकहरुका लागि  पन्ध्र दिने तालिम शुरु गरिएको छ ।
SAM_1658जिल्ला विकास समिति धादिङ र मध्य नेपाल पर्यटन विकास समितिको संयुक्त आयोजनामा बुधवारवाट शुरु भएको तालिम बैशाख ३१सम्म चल्नेछ । पर्यटकीय क्षेत्रका रुपमा विकास हुंदै गएको पात्लेमा शुरु भएको होमस्टे पर्यटनमैत्री वनाउन तथा होमस्टेको व्यवस्थापनका लागि तालिमको आयोजना गरिएको हो ।
जिल्लाकै नमसना पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै आएको खाल्टे गाविस १ को पात्लेमा २०६४ देखि होमस्टे संचालनमा आएको छ । तत्काल पाँचवटा घरबाट सुरु गरी २० वटा घरमा सँचालन गर्नेगरी होमस्टेको पूर्वाधार निर्माणमा जुटेका स्थानीयवासीलाई व्यवसायिक रुपमा होमस्टे संचालनका लागि व्यवस्थापन तालि दिन लागिएको जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालले वताएका छन ।
होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत सत्कार गर्न पर्यटकको रुचिअनुसारको स्थानीय स्वादिष्ट नास्ता एवं खाना बनाउन सुत्ने कोठा शौचालय सफा र व्यवस्थित गर्न सामान्यतया भाषाको ज्ञान दिनका लागि सँचालकलाई आवश्यक तालिमको व्यवस्था गरिएको मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले वताए ।
आन्तरिक पर्यटनको आगमन बढ्दै गएपनि बाह्य पर्यटकको आगमन भने न्यून मात्रामा रहेको पात्ले होमस्टे व्यवस्थापन समितिका अध्यक्ष श्यामवहादुर गुरुङ बताउंछन । सदरमुकाम धादिङबेसीबाट नौ किलोमिटरको यात्रा पछि पुग्न सकिने पात्ले गाउंमा ८५ घर गुरुङ र ५ घर गिरी परिवारको वसोवास रहेको छ ।
पात्लेको सबैभन्दा अग्लो स्थान लामागुरु स्थान र नजिकै रहेको ढुङ्गेबगैचावाट विभिन्न कलात्मक आकृतिका ढुङ्गाहरुका साथै जिल्लाका विभिन्न भुभागको दृष्यावलोकन गर्न सकिन्छ । साथै मौसम सफा भएका बेला एक दर्जन भन्दा बढी हिमश्रृङखलाहरु नजिकैबाट हेर्न सकिन्छ । पर्यटकलाई अझै अग्लो स्थानबाट दृश्यावलोकन गराउन यहाँ भ्युटावर राख्ने पहल भइरहेको अध्यक्ष गुरुङ बताउंछन । बुधवार एक कार्यक्रमका बिच शुरु गरिएको होमस्टे व्यवस्थापन तालिममा चितवन जिल्ला विकास समितिका टिकाराम कंडेल,धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी, उद्योग वाणिज्य संघ धादिङका प्रमुख कार्यकारी अधिकृत शालिकराम दुवाडी,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली लगायतले पात्ले होमस्टेको वारेमा आफ्नो भनाईहरु राखेका थिए ।
पन्ध्र दिन सम्म चल्ने तालिममा ग्रामीण पर्यटनका बिषयका विज्ञद्धय सुदिप भट्ट र सुरेन्द्र अधिकारीले होमस्टे व्यवस्थापनका बिषयमा प्रशिक्षण दिने वताईएको छ ।