हाम्रो पालिका

धादिङबेसी खानेपानीमा गणेशकुमारको प्यानलनै विजयी

By Dhadingnews.com

May 11, 2014

धादिङ,- धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको अध्यक्षमा गणेशकुमार श्रेष्ठको नेत्तृत्वमा रहेको प्यानलनै विजयी भएको छ । शनिवार राती अवेर सम्पन्न भएको मतगणना अनुसार अध्यक्ष पदमा विजयी श्रेष्ठले ७२१ र प्रतिस्पर्धि राजेन्द्र अधिकारीले ४६३ मत पाएका थिए । श्रेष्ठको प्यानलमा रहेका उपाध्यक्ष भोजराज रेग्मीले ७३७, सचिव बिष्णुभक्त श्रेष्ठले ६६३ ,कोषाध्यक्ष हरिवहादुर श्रेष्ठले ६८० र महिला सदस्हरु लिलादेवी श्रेष्ठले ६४३ र फिक्चा तामाङले ६२५ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सदस्यहरुमा इन्द्रवहादुर श्रेष्ठ,आईतवहादुर गुरुङ,नारायणकुमार श्रेष्ठ ( नागजी),गिरीराज भट्ट,वलराम श्रेष्ठ,भगवती श्रेष्ठ र थानप्रसाद इटनी पनि विजयी भएका छन । धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको बैशाख २६ र २७ गते सम्पन्न भएको निर्वाचनमा दुईवटा प्यानलका विच प्रतिस्पर्धा भएको थियो ।बैशाख १० र ११ गते सम्पन्न भएको अधिबेशनको वन्द सत्रले सहमतीवाट कार्य समिति चयन गर्न नसकेपछि बैशाख २५ र २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । यसैगरी अधिकारीको अध्यक्षतामा रहेको अर्को प्यानलका उपाध्यक्ष भक्तकुमार श्रेष्ठले ४६३,मिनवहादुर थापाले ३४९ र कोषाध्यक्ष रामलाल श्रेष्ठले पनि ३४९ मत पाएका थिए । दुवै प्यानलको अध्यक्ष पदमा भने नेपाली कांग्रेस समर्थित व्यक्ति रहेको भएपनि गणेशकुमारको प्यानललाई नेपाली कांग्रेस,नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका दलको समर्थन रहेको थियो भने अधिकारीको प्यानललाई नेपाली कांग्रेसका केही असन्तुष्ठ पक्षका साथै नेकपा–माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी,अखण्ड पार्टी नेपाल लगायतका दलको समर्थन रहेको थियो । सदरमुकाम र आसपासका बस्तीका गरी एक हजार ९ सय ८ जना उपभोक्ता सदस्य रहेको खानेपानीको निर्वाचनमा १३ सय ५८ मत खसेको थियो ।