हाम्रो पालिका

अध्यक्ष पदमा निर्वाचित भएपछि प्रेस बिज्ञप्ति मार्फत सहयोगीहरुलाई कृतज्ञता

By Dhadingnews.com

May 12, 2014

धादिङ–धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको अध्यक्षमा पदमा भारी मतले विजयी हुनुभएका गणेशकुमार श्रेष्ठले प्रेस बिज्ञप्ति मार्फत आफ्नो अभियानलाई सहयोग पु¥याउने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । बुवाको निधन भएका कारण सार्वजनिक जिवनमा देखिन नपाएपनि श्रेष्ठले अख्तियारी दिएर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

श्रेष्ठले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा लेखिएको छ –धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको तेश्रोे साधारणसभा र दोश्रो अधिवेशनमा मलाई अध्यक्ष पदमा निर्वाचीत गराउनु हुने सम्पूर्ण उपभोक्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । पारिवारिक कारण निर्वाचन प्रक्रियाको सबै समयमा तपाइँहरुमाझ उपस्थित हुन नसकेपनि संस्थाको नेतृत्वका लागि मलाई विश्वास गरी नेतृत्व प्रदान गर्न हुने सबै उपभोक्ताप्रति आभार व्यक्त गर्न चाहन्छु । आमउपभोक्ताको विश्वास अनुकुल यस क्षेत्रको खानेपानी र सरसफाईलाई व्यवस्थित बनाउन आवश्यक कार्य गर्न पुनः प्रतिबद्धता व्यक्त गर्दछु । तपाईहरु माझ निर्वाचनका क्रममा गरेका प्रतिवद्धतालाई पूर्णता दिनु र अगिल्लो कार्य समितिले गरेका राम्रा कार्यको निरन्तरता दिनु म र मेरो कार्य समितिको मार्ग दर्शन हो भन्ने बुझेको छु । सोही अनुरुप कार्य अगाडि बढाउने छु । बिज्ञप्तिमा भनिएको छ –निर्वाचन लोकतान्त्रिक पक्रियाको सुन्दर अभ्यास मात्र हो । निर्वाचनमा पक्ष विपक्षमा विभाजित भएपनि त्यो निर्वाचन सँगै सकिएको छ । सबै उपभोक्ता, उपभोक्ताका अगुवा र सुभेच्छुकहरुलाई यसै संस्थाको छाताभित्र संस्थाको हितका निम्ति अगाडि बढ्न र सहकार्य गर्न अपिल गर्दछु । जिल्लाको सदरमुकामलाई सुन्दर र सफा बनाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट इमान्दिरताका साथ सहभागि जनाउन अनुरोध गर्दछु । तेस्रो जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सफल नारायणकुमार श्रेष्ठको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमिति, निर्वाचन समिति, राजनैतिक दल, सञ्चारकर्मी, सुभेच्छुक एवं अग्रज सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा पनि धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको हरतरहका कार्यमा निरन्तर सुझाव, सहयोगको अपेक्षा गर्दछु श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

धादिङन्युजमा प्रकाशित भएका  समाचार,लेख,रचना तथा अन्य कुनै पनि सामाग्री साभार गरेर कुनै पनि मिडियामा प्रयोग गर्न पाईनेछैन । यदि कुनै कारणवश साभार गर्नुपरेमा सामाजिक संजाल ( फेसबुक, टुविटर,व्लग तथा वेभसाईटमा ) प्रयोग गर्नुपरेमा अनिवार्य रुपमा हाम्रो श्रोत खुलाउनु पर्नेछ । सहयोगको अपेक्षा सहित धन्यवाद ।