राष्ट्रिय समाचार

नयाँ ७२ वटा नगरपालिकामा कार्यकारी अधिकृत

By Dhadingnews.com

May 17, 2014

काठमाडौं, जेठ ३ – सरकारले नयाँ घोषणा भएका ७२ वटा नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ ।

तत्कालको लागि नगरपालिकाको कामकाज गर्न कार्यकारी अधिकृतको रुपमा कर्मचारी खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले घोषणा भएका नगरपालिकाहरुले गाविस कार्यालयबाट हुँदै आएको काम अब नगरपालिकाको नामबाट गर्न निर्देशन पनि दिएको छ ।

नयाँ नगरपालिकामा गाभिएका गाविसका कार्यालयलाई तत्कालको लागि वडा कार्यालय अथवा संयुक्त वडा कार्यालयको रुपमा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको छ ।

यस्तै गाविस नागरिक मञ्च विघटन गरि स्वीकृत नगरपालिकाका वडाहरुमा वडा नागरिक मञ्च गठन गर्न सरकारले निर्देशन दिएको छ ।

नयाँ घोषणा भएका नगरपालिकाको कामकाज सुरु गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा स्थानीय विकास अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य तथा नगरपालिकाका कार्यकारी अधिकृत सदस्य सचिव रहेको सहजिकरण समितिसमेत गठन गरेको मन्त्रालयले जनाएको छ । सरकारले गएको हप्ता २ सय ८३ वटा गाविसलाई मिलाएर ७२ वटा नयाँ नगरपालिका थप गरेको थियो उज्यालो अनलाईनले खबर लेखेको छ ।

यो पनि पढ्नुहोला : ७२ वटा नयाँ नगरपालिका स्वीकृत (थपिएका नगरपालिकाको नामसहित)