मुख्य समाचार

नीलकण्ठ नगरपालिकाले काम थाल्यो

By Dhadingnews.com

May 19, 2014

धादिङ– केही समय अघि सरकारले घोषणा गरेको नीलकण्ठ नगरपालिकाले आईतवारदेखि नियमित काम सुरु गरेको छ । साविकको गाविसको नामबाट हुँदै आएको कामकाज बन्द गरी नगरपालिकाको नामबाट काम सुरु भएको वताईएको छ ।

 गत बैशाख २५ गते मन्त्री परिषदको बैठकले देशभर ७२ वटा नगरपालिका थप गर्ने क्रममा धादिङको नीलकण्ठ, मुरलीभञ्ज्याङ, सुनौलाबजार र साङ्कोष गाविसलाई मिलाएर नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । साविकको नीलकण्ठ गाविसको कार्यालय धादिङबेसी बीचबजारमा नगरपालिको मुख्य कार्यालय स्थापना गरिएको कार्यालयको आईतवार विहान एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । नीलकण्ठ नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । कार्यालय उद्घाटन गरेर काम सुरु गरेपछि गाविसका सबै खाताहरु बन्द गरी नगरपालिको खाता खोलिने र गाविसको खातामा रहेका रकम नगरपालिकालाई हस्तान्तरण गरीने नगरपालिकाका कार्यकारी अधिकृत जनराज शर्माले बताउनुभयो । कार्यालय स्थापनासंगै गाविसको नाममा रहेको सबै चल अचल सम्पत्ति नगरपालिकाको नाममा ल्याइएको पनि शर्माले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७१÷७२ देखि नगरपालिकाको नियम अनुसार कर, दस्तुर सेवा शुल्क पारित कार्यान्वयनमा ल्याइने नगर विकास समितिले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत जनकराज शर्माको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी कार्यक्रममा स्थानीय विकास अधिकारी रमेश न्यौपाने, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख चन्द्रप्रसाद भुसाल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले नगरको समग्र विकासका लागि सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् ।

यस्तो हुनेछ निलकण्ठ नगरपालिकाको वडाहरु

नीलकण्ठ नगरपालिले आफ्नो नियमित काम सुरु गरेसंगै १३ वटा वडाहरुको पनि टुङ्गो लगाएको छ । नगरपालिका संचालनका विषयमा बसेको बैठकले साविकको निलकण्ठ गाविसको वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १ कायम गरिएको छ । त्यस्तै निलकण्ठ गाविसको साविकको वडा नम्बर ३, ४ र ५ लाई मिलाएर निलकण्ठ नगरपालिका २, वडा नम्बर ५ लाई निलकण्ठ नगरपालिका ३ कायम गरिएको छ भने निलकण्ठको वडा नम्बर १, २ र सुनौलाबजार ९ लाई मिलाएर निलकण्ठ नगरपालिका ४ कायम गरिएको छ । त्यस्तै सुनौलाबजारको साविकको वडा नम्बर ३ र ४ लाई मिलाएर ५, सुनालाबजारकै १, २ र ३ वडालाई मिलाएर निलकण्ठ नगरपालिका वडा नम्बर ६ कायम गरिएको छ भने सुनौलाबजारको वडा नम्बर ६, ७ र ८ लाई मिलाएर निलकण्ठ नगरपालिका ७ कायम गरिएको छ । बैठकले मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर १, २ र ३ लाई निलकण्ठ नगरपालिका ८, वडा नम्बर ४, ५ र ६ लाई मिलाएर निलकण्ठ नगरपालिका ९ र मुरलीभञ्ज्याङ गाविसको साविकको वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १० कायम गराइएको छ । त्यसैगरी साविकको साङ्कोष गाविसको वडा नम्बर ४, ५ र ६ लाई मिलाएर निलकण्ठ नगरपालिका ११, १, २ र ३ नम्बर वडालाई मिलाएर निलकण्ठ नगरपालिका १२ कायम गरिएको छ भने साङ्कोषकै वडा नम्बर ७, ८ र ९ लाई मिलाएर निलकण्ठ नगरपालिका १३ कायम गरिएको कार्यकारी अधिकृत शर्माले जानकारी दिनुभयो । बैठकले नगर परिषद नहुनजेलका लागि ४ वटा संयुक्त वडा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । जसअनुसार निलकण्ठ नगरपालिका वडा नम्बर १, २, ३ र ४ को लागि धादिङबेसी स्थित निकलण्ठ गाविसको कार्यालयबाट सेवा दिने व्यवस्था मिलाइएको छ । त्यस्तै निलकण्ठ नगरपालिका वडा नम्बर ५, ६ र ७ को लागि सुनौलाबजार गाविसको कार्यालय सुनौलाबजारबाट र वडा नम्बर ८, ९ र १० का लागि साविकको मुरलीभञ्ज्याङ गाविस कार्यालय मुरलीभञ्ज्याङबाट सेवा प्रदान गरिने नगरपालिका प्रशाशकीय अधिकृत सीतारम थापाले जानकारी दिनुभयो । त्यस्तै निलकण्ठ नगरपालिका ११, १२ र १३ का उपभोक्ताहरुलाई भने निलकण्ठ नगरपालिका १२ स्थित पचघरेमा संयुक्त वडा कार्यालय स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ ।