धादिङ- धादिङको सल्यानटारमा रहेको ज्यामिरे चौर प्राथमिक बिद्यालयका वालवालिकालाई अमेरीकामा अध्ययनरत नेपाली बिद्यार्थीहरुले एक दिनको खाजा खर्च कटाएर बचेको रकमवाट सहयोग उपलव्ध गराएका छन । अमेरीकाको मिसिसिपी स्थित स्टार्सभिल्लामा रहेको मिसिसिपी स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेप्लिज स्टुडेण्ट एशोसियशनको तर्फवाट सल्यानटारको ज्यामिरचौर प्राविका ९० जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री उपलव्ध गराईएको हो । युनिभर्सिटीमा भौतिक शास्त्रमा बिद्यावारिधिको अध्ययन गर्दै गरेका धादिङ चैनपुरका उमेश सिलवालको उपस्थितीमा मंगलवार बिद्यार्थीलाई एक एक थान झोला,एक वर्षको लागि स्टेशनरी सामाग्रीका साथै बिद्यालयलाई भलिवल र अन्य खेल सामाग्री बितरण गरिएको थियो । युनिभर्सिटीको नेप्लिज स्टुडेण्ट एशोसियशनमा आवद्ध ५० जना नेपाली बिद्यार्थीले एक दिनको खाजा खर्च कटाएर वचत गरेको नेपाली रुपैया ६० हजारवाट सल्यानटारका कुमाल, दराई र गिरी वालवालिकालाई पढ्नका लागि सहयोग गरिएको एशोसियशनका सचिव सिलवालले जानकारी दिए