हाम्रो पालिका

खाजा खर्च कटाएर सहयोग

By Dhadingnews.com

June 03, 2014

धादिङ : जिल्लाको सल्यानटारमा रहेको ज्यामिरेचौर प्राथमिक विद्यालयका बालबालिकालाई अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले एक दिनको खाजाखर्च कटाएर बचेको रकमबाट सहयोग उपलब्ध गराएका छन्।

अमेरिकाको मिसिसिपीस्थित स्टार्सभिल्लामा रहेको मिसिसिपी स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको संगठन नेप्लिज स्टुडेन्ट एसोसिएसनका तर्फबाट सल्यानटारको ज्यामिरेचौर प्राविका ९० जना विद्यार्थीलाई शैक्षिक सहयोग सामग्री उपलब्ध गराइएको हो। युनिभर्सिटीमा भौतिकशास्त्रमा विद्यावारिधि अध्ययन गर्दै गरेका धादिङ चैनपुरका उमेश सिलवालको उपस्थितिमा मंगलबार विद्यार्थीलाई एकएक थान झोला, एक वर्षका लागि स्टेसनरी सामग्रीका साथै विद्यालयलाई भलिबल र अन्य खेल सामग्री वितरण गरिएको थियो।

युनिभर्सिटीको एसोसिएसनमा आबद्ध ५० जना नेपाली विद्यार्थीले एक दिनको खाजा खर्च कटाएर बचत गरेको नेपाली रुपैयाँ ६० हजारबाट सल्यानटारका कुमाल, दराई र गिरी बालबालिकाको पठनपाठनमा सहयोग गरिएको एसोसिएसनका सचिव सिलवालले बताए।