मुख्य समाचार

विद्यालयको शौचालय प्रयोगविहीन

By Dhadingnews.com

June 12, 2014

सल्यानटार-धादिङको सल्यानटार गाविसमा रहेका सामुदायिक विद्यालयको शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ । खानेपानीको समस्याबाट ग्रस्त सल्यानटार गाविसमा रहेका सामुदायिक विद्यालयमा बनेका शौचालयमा पानी अभावका कारण प्रयोगमा आउन नसकेको हो । स्थानीय सुमन कुमालले शौचालय जानका लागि पानी नभएकाले विद्यालयको शौचालय प्रयोग गर्न नपाएको बताएका छन् । उनी विद्यालय जानुअघि घरमै दिसा पिसाब गर्छन् र विद्यालय फर्केपछि दिसा पिसाब गर्ने गरेको बताउँछन् । छात्रालाई त झनै समस्या छ । उत्तरी क्षेत्रमा रहेको सल्यानटार गाविसका १० सामुदायिक विद्यालयमध्ये दुईबाहेक सबै विद्यालयमा शौचालय प्रयोग गर्ने विद्यार्थीको सङ्ख्या अति कम रहेको सम्बन्धित विद्यालयले जानकारी दिएका छन् । पानी अभाव भएकाले घर नजिकै हुनेहरू घरमै जाने र टाढा घर हुनेहरू शौचालय प्रयोग गर्नुपर्ने अवस्था आएमा पढाइ नै छाडेर हिँड्ने गरेको शिक्षकको भनाइ छ । घरघरमा खानेपानी जस्तै गरी विद्यालयमा पनि खानेपानीको व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरेको लामो समयसम्म पनि बेवास्ता गरेका कारण सल्यानटारमा छात्राले पढाइ छाड्न बाध्य भएको स्थानीय सामाजिक कार्यकर्ता रञ्जिता पाठकले बताउनुभयो । सल्यानटार गाविसमा दुई उच्च मावि, एक मावि, तीन निमावि, तीन प्रावि र एक बाल विकास गरी दस विद्यालय रहेका छन् ।