हाम्रो पालिका

जिल्ला कमिटीको बैठक छाडेर गुटको भेलामा

By Dhadingnews.com

June 14, 2014

धादिङ,३१ जेठ- पार्टीको नवौं महाधिवेशन नजिकिंदै जांदा एमाले पार्टी भित्र गुटवन्दीको असर जिल्ला तहमा समेत देखिन थालेको छ । शनिवार धादिङबेसीमा एमालेको जिल्ला कमिटीको वैठक बसिरहंदा माधव नेपाल पक्षधरहरुले वैठक छाडेर छुट्टै जिल्लाभेला सम्पन्न गरेका छन । मदन भण्डारी अध्ययन केन्द्रको नामवाट शनिवार धादिङबेसीमा माधव नेपाल पक्षधर एमाले कार्यकर्ताको जिल्ला भेला सम्पन्न भएको हो । भेलालाई एमालेका पोलिटव्युरो सदस्यहरु राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले बिशेष सम्वोधन गरेका थिए । एउटै मञ्चमा विरलै देखापर्ने दुई नेता पाण्डे र तुलाधर शनिवार पनि संगै देखा परेनन । पाण्डेले भेलालाई सम्वोधन गरेर काठमाण्डौं फर्किसकेपछि मात्र तुलाधर कार्यक्रममा आईपुगेका थिए । भेलालाई सम्वोधन गर्दै गृह जिल्ला धादिङवाट पुर्व स्थानीय विकास मन्त्री एवम नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले पार्टीको नवौं महाधिबेशनमा आंफुले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका छन । सचिव पदमा काम गर्ने इच्छा भएपनि पार्टीको निर्णयमा रहेर अन्य पदाधिकारीको जिम्मेवारी सम्हाल्न समेत आंफु तयार रहेको उनले वताएका छन । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिबेशनको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई एमालेका पोलिटव्युरो सदस्य गंगालाल तुलाधर, धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी, क्षेत्र नम्बर १ का सभासद धनवहादुर घले लगायतले सम्वोधन गरेका थिए । अधिकांश वक्ताले पार्टी भित्र गुटवन्दी हावी भएको आरोप लगाउंदै ओली पक्षधरहरुलाई कटाक्ष गरेका थिए । जिल्लामा एमालेका जिल्ला अध्यक्ष खेम लोहनी र उपाध्यक्ष भुमि त्रिपाठी,वागमती अंचल सचिवालय जगन्नाथ नेपाल, धादिङ क्षेत्र नम्बर ३ का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेल लगायतका नेताहरु ओली निकट मानिन्छन । पार्टीमा गुटवन्दी भएको आरोप लगाउनेहरुलेनै शनिवार मदन भण्डारी अध्ययन केन्द्रको नाममा नेपाल पक्षधर कार्यकर्ताहरुको छुट्टै जिल्लास्तरीय भेलाको आयोजना गरेपछि ७४ सदस्यिय एमाले जिल्ला कमिटीको वैठकमा ४३ जनाको मात्र उपस्थिती रहेको एमाले जिल्ला कमिटीका एक सदस्यले वताए । नेपाल पक्षधरको भेलामा क्षेत्र नम्वर १ का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य डाक्टर रामुकमार अधिकारी,जिल्ला सचिव शिव कंडेल, उप सचिव शम्भु थापा, पार्टीको सहकारी विभागका केन्द्रिय सदस्य मिनराज कंडेल लगायतका नेताहरुको आतिथ्य रहेको थियो । माधव पक्षधरले भेला आयोजना गरेको स्थलवाट तीन सय मिटर पर रहेको पार्टी कार्यालयमा जिल्ला कमिटीको बैठक चलिरहंदा सचिव, उप सचिव सहित २१ जिल्ला सदस्यहरु बैठकमा उपस्थित नभई छुट्टै भेलामा सहभागि भएपछि एमालेको जिल्ला तहमा गुटवन्दीको असर देखिएको एमाले कार्यकर्ताहरुले वताएका छन । धादिङ क्षेत्र नम्वर २ का एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको भेलाको औचित्यका वारेमा केशव दुवाडीले जानकारी गराएका थिए ।