हाम्रो पालिका

नलाङमा कृषि पर्यटन मेला आयोजना गरिंने

By Dhadingnews.com

June 19, 2014

धादिङ,५ असार ः राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर धादिङमा कृषि पर्यटन मेलाको आयोजना गरिने भएको छ । धादिङको नलाङ गाउँ विकास समितिको मातहतमा रहनेगरी स्थापना भई संचालनमा रहेको कृषि–पर्यटन क्षेत्र विकास समिति नलाङको आयोजनामा असार १३ देखि १५ सम्म कृषि–पर्यटन मेला हुन लागेको हो । नलाङ गाविसको वडा नम्बर ५ ठांटी भञ्ज्याङमा १३ गते कृषि तथा पशु उपजहरुको जानकारी दिने प्लेकार्ड तथा विभिन्न जातीय झाँकी सहित र्याली निकालेर मेला उदघाटन गरिने भएको छ । मेलाको दोश्रो दिन १४ गते कृषि–पर्यटन क्षेत्र विकासमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम र १५ गते नलाङ गाविसकै बुङचुङमा रोपाई कार्यक्रमको आयोजना गरी मेला समापन गरिने समितिका अध्यक्ष बद्रीप्रसाद अर्यालले वताएका छन । मेलाको आयोजनाले कृषि–पर्यटनको एकिकृत विकास योजनाको कार्यान्वयन गर्दै पर्या पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रसोधन हुने अध्यक्ष अर्यालले बताए । नलाङ गाविसमा पछिल्लो समयमा व्यवसायिक कृषि तथा पशुपालन फर्महरुको स्थापना हुनेक्रम बढ्दै जांदा १३ करोड भन्दा बढीको लगानी भईसकेको समितिले जनाएको छ । नलाङ गाविसलाई पर्या पर्यटनको आकर्षणको केन्द्र वनाउन फर्म–स्टे, होम–स्टे र होटलस्टेको व्यवस्थापन हुन थालेको र यसवाट पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन बढाउन मेलाको आयोजना गरिएको समितिका सचिव राजाराम शर्माले बताए । नेपालको प्रमुख बालीका रुपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिने उद्धेश्यले गएको १० बर्ष देखि असार महिनामा धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । जिल्लामा मनाउन लागिएको कृषि पर्यटन मेला सफल पार्न जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका साथै संचारमाध्यमहरुसंग सहकार्य गरेर अघि बढिएको समितिले जनाएको छ । मेलाको माध्यमवाट तार नलाङमा तरकारी खेती, कफिंडाडामा रहेको बृहद कफि वगैंचा र नमुना कृषि फर्म, पात्ले गाउँको सुन्तला र नर्सरी, अल्टरनेटिभ एग्रो सोलुशन प्रा.लि.मार्फत वाखा्रपालन, दोभान फेमिलि एग्रिकल्चर्स प्रा.लि.मार्फत दोभान टारमा माछापालन तथा अन्य कृषि तथा पशुपालन, फलेते र बलम डाँडाँकोसुन्तलाखेती, लप्साङकर्पो एग्रिकल्चर्स प्रा.लि.–व्यवसायिक गाईपालन अर्थात् दुग्ध उत्पादन, सुन्दरीपानीको तरकारी खेती, नयाँबस्ति र अर्चले, बैरेनीमा रेशमखेती,मौरीपालन तथा प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र सिद्धलेकका वारेमा मेलाले थप प्रचार प्रसार गर्ने वताईएको छ ।