हाम्रो पालिका

व्यवस्थापन समिति माग्दै बिद्यालयमा ताला

By Dhadingnews.com

July 01, 2014

धादिङ- धादिङको गजुरी गाविसको वडा नम्बर ७ राक्सिङमा रहेको महेन्द्रोदय माविमा स्थानीय आमा समुहले तालावन्दी गरिदिएका छन । सोमवार बिद्यालय व्यवस्थापन समिति गठनका लागि वोलाईएको भेलामा शिक्षा कार्यालयका प्रतिनिधि अनुपस्थित रहेपछि आमा समुहले बिद्यालयमा तालावन्दी गरेका हुन । व्यवस्थापन समिति गठनका लागि जिल्ला शिक्षा कार्यालयको सहमतीमा असार १६ गतेका लागि मिति तोकेर अभिभावक भेला वोलाईएको बिद्यालयले जनाएको छ । बिद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा कार्यालयले बिद्यालय निरिक्षक माधव मल्ल र श्रोत व्यक्ति शेरवहादुर अधिकारीलाई प्रतिनिधि तोकेको भएपनि दुवै जना सोमवार बिद्यालयमा अनुपस्थित भएपछि स्थानीय महिलाहरु आक्रोशित भएका हुन । बिद्यालयको कामलाई वेवास्ता गरी लामो समय देखि बिद्यालय वाहिर रहंदै आएको आरोपमा अघिल्लो व्यवस्थापन समितिले अनिलकुमार कंडेललाई प्रधानाध्यापकको जिम्मेवारीवाट हटाएर पुर्व प्रधानाध्यापक शिवराज डल्लाकोटीलाई जिम्मेवारी दिएपछि बिद्यालयमा राजनैतिक विवाद शुरु भएको र सोमवारको भेला पनि प्रभावित हुन पुगेको स्थानीयको भनाई छ । कंडेल एमाओवादी निकटका हुन भने डल्लाकोटी एमाले निकट मानिन्छन । जिल्ला शिक्षा कार्यालयको सहमतीमा वोलाईएको भेलामा बिद्यालयका २ सय ६ जना मध्ये १ सय ६० जना अभिभावक सोमवार उपस्थित भएपनि राजनैतिक दलको दवावमा शिक्षा कार्यालयका प्रतिनिधि बिद्यालयमा अनुपस्थित रहेको स्थानीय अरुण पराजुलीले वताउनु भयो । पराजुलीका अनुसार व्यवस्थापन समितिको अध्यक्ष पदका लागि नेपाली कांग्रेस,एकीकृत माओवादी र राप्रपाले संयुक्त रुपमा धनवहादुर मगरलाई र नेकपा एमाले समर्थित अभिभावकले गोकर्णलाल श्रेष्ठलाई अध्यक्ष पदका लागि अघि सारेका छन । संयुक्त प्यानल भन्दा एकल उम्मेदवारको अवस्था वलियो देखेपछि शिक्षा कार्यालयका प्रतिनिधिले सोमवार भेलामा अनुपस्थित भएर राजनैतिक चरित्र देखाएको स्थानीयको आरोप छ । लामो समय देखि राजनैतिक दवाव झेल्दै आईरहेको महेन्द्रोदय माविको यस बर्षको प्रवेशिकाको नतिजा समेत निकै कमजोर देखिएको थियो । बिद्यालय निरिक्षक मल्ल एमाओवादीका केन्द्रिय सदस्य पुष्पबिक्रम मल्लका भाई हुन भने श्रोत व्यक्ति अधिकारी पनि एमाओवादी समर्थित नै हुन । यसै बिच धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले सोमवार भेलामा अनुपस्थित रहेका बिद्यालय निरिक्षक मल्ल र श्रोत व्यक्तिलाई मंगलवार बिद्यालयमा गएर तत्काल भेलाको अर्को मिति तोक्न निर्देशन दिएको वताउनु भएको छ । पछिल्लो समय धादिङ जिल्लाका अधिकांश बिद्यालयमा व्यवस्थापन समिति गठनका लागि राजनैतिक दलहरुका बिच कडा प्रतिस्पर्धा हुने गरेको छ ।