राष्ट्रिय समाचार

उपत्यकामा डेंगुका बिरामी

By Dhadingnews.com

July 06, 2014

 

काठमाडौं : राजधानी सहरसँगै जोडिएको भक्त पुरमा पनि डेंगुको संक्रमण पुष्टि भएको छ। बढी ज्वरो र आँखाका गेडी र जोर्नी दुखाइको समस्या लिएर केही दिनअघि टेकुस्थित ट्रपिकल तथा सरु वा रोग अस्पतालमा स्वास्थ्य जाँच गर्न पुगेका भक्तपुरका २० वर्षीय एक युवकलाई डेंगु संक्रमण पुष्टि भएको हो।

डेंगुले कडा रूप (सेकेन्डरी इन्फेक्सन) लिइसकेको अवस्थामा पुगेका बालकोटका ती युवकलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यसअघि काठमाडौंका एकजनालाई कडा खालको डेंगुको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।

पछिल्लो एक महिनामा काठमाडौंमा मात्र २० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये अधिकांशलाई क्लासिकल (सामान्य डेंगु) पाइएकाले भर्ना नगरिएको अस्पतालले जनाएको छ। तराईमा मात्र देखिने डेंगु पछिल्लो समय पहाडी क्षेत्रमा पनि देखिन थालेकाले सचेतना अपनाउन आवश्यक रहेको अस्पतालका सरु वारोग विशेषज्ञ शेरबहादुर पुनले बताए। बढ्दो प्रदूषण, अव्यवस्थित सहरीकरण, तापक्रम वृद्धि, फोहोरलगायत कारणले डेंगु फैलाउने लामखुट्टे उपत्यकामा पनि फैलन थालेको पुनको भनाइ छ। उनले भने, ‘डेंगुको कुनै त्यस्तो खास उपचार छैन। त्यसैले सकेसम्म यसबाट बच्ने कोसिस गर्नुपर्छ, हामीले लाक्षणिक उपचार मात्र गरेर बिरामीलाई पठाउने गरेका छौं।’ २०६६ सालमा नेपालमा पहिलोपटक पुष्टि भएको डेंगुको संक्रमण फैलिँदो छ। यस वर्ष वीरगन्ज, चितवन, बिर्तामोड, बुटवल, नेपालगन्ज, कैलालीलगायत जिल्लामा यसको संक्रमण देखिएको छ। डेंगुबाट हालसम्म पाँचजनाको मृत्यु भइसकको छ।

महामारी तथा रोग नियन्त्रण महाशाखा प्रमुख बाबुराम मरासिनीले भने, ‘डेंगुको जोखिम बढ्दो छ, सचेत हुनुभन्दा पनि यसका कारकतत्त्व हामीले नै जन्माइरहेका छौं।’ डेंगु संक्रमणले मानवशरीरको रगत जम्ने प्रक्रियामा गडबडी आउँछ र संक्रमण बढ्दै जाँदा रक्तस्राव भई मृत्युको जोखिम बढ्छ। एडिस एजेप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट फैलिने डेंगुको रोकथामका लागि भाँडाकुडा वा खुला ठाउँमा पानी जम्न नदिने र त्यसको टोकाइबाट जोगिनुपर्छ अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।